गण्डकी प्रदेशको समृद्धिको आधार सहकारी :मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशको समृद्धिको आधार सहकारी :मुख्यमन्त्री पोखरेल :: Sahakari Akhabar

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले समृद्ध गण्डकी प्रदेशका लागि सहकारी क्षेत्रको सबलीकरणमा जोड दिएका छन् ।

सहकारी समाजको आर्थिक सामाजिक रुपान्तरणका लागि सहकारी नै उपयुक्त माध्यमका रुपमा रहेको उनको भनाइ छ । राष्ट्रिय सहकारी बैंकको १८ औं वार्षिक साधारणसभाको एकाई (४) अन्तर्गत गण्डकी प्रदेश स्तरीय सभाको बिहीबार पोखरामा उ्घाटन पछि बोल्दै उनले यस्तो बताएका हुन् ।

गण्डकी प्रदेश महत्वपूर्ण स्रोत साधनले भरिपूर्ण प्रदेश हो, यहाका स्रोतहरुको अधिकतम परिचालनका लागि सहकारी र सरकारबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।

‘सहकारीले पर्यटन, जलविद्युत, उद्योग तथा व्यवसाय र रोजगारी प्रर्बद्धनमा लगानी गर्नुपर्दछ’ मुख्यमन्त्री पोखरेलले भने ‘सहकारीले सामाजिक उत्तरदायित्व अनुसार समेत काम गर्दै उत्पादनमुखी हुन जरुरी छ ।’ प्रदेशको आर्थिक विकासका लागि सहकारी क्षेत्रले बाहिर राखेर संभव नहुने उनको भनाइ थियो ।

जनताको स–सानोपूँजी र प्रविधिमार्फत आय–आर्जन गराउदै सहकारीले आफ्नो भूमिका बढाउदै लैजानुपर्ने भन्दै मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशका तर्फबाट सहकारीलाई सकारात्मक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले सहकारी बैंकले सहकारीको पूँजीलाई एकीकृत गर्दै उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने धारण व्यक्त गरे । गण्डकी प्रदेश सरकारका योजनासंग सहकारी बैंकका कार्यक्रमलाई जोडेर अगाडि बढ्ने उनले प्रतिवद्धता व्यक्त गरे ।

राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशव प्रसाद बडालले बहुआयामिक गरिवीको अन्त्यका लागि सहकारी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले गरिवी निवारणका लागि सहकारी क्षेत्रसंग समन्वय गरेर योजना निर्माण र कार्यान्वयन गर्नु पर्नेमा जोड दिए ।

उनले सहकारीमार्फत आर्थिक र सामाजिक रुपान्तरणका लागि सहकारी क्षेत्रको प्रभावकारी परिचालनका लागि अभियान सदैव तत्पर रहेको उनको भनाइ थियो ।

साधारणसभामा गण्डकी प्रदेश सरकारका भूमि व्यवस्था, कृषि, सहकारी  तथा गरिवी निवारणमन्त्री चन्द्र बहादुर बुढाले सहकारीहरुको योगदानका कारण रोजगारी सृजना देखि उत्पादनमा सहयोग पुगेको बताए ।

समृद्ध समाज निर्माणका लागि सरकारले लिएको लक्ष्यलाई पुरा गर्नका लागि सहकारी क्षेत्रको भूमिका थप प्रभावकारी बनाउनु पर्नेमा जोड दिदै मन्त्री बुढाले प्रदेश सरकार सहकारीहरुसग समन्वय गरेर अगाडि बढ्न तयार रहेको बताए ।

प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार उदय बहादुर पराजुलीले सरकार र सहकारी अभियान मिलेर सहकारी क्षेत्रको प्रवद्र्धनमा काम गर्नु पर्ने बताए ।

अध्यक्ष के.बी उप्रेतीको अध्यक्षतामा भएको साधारण सभामा राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक हुमा कुमारी जिसी (अञ्जु), केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका वरिष्ठ उपाध्यक्ष अमर बहादुर कुँवर, नेफ्स्कुनका सञ्चालकद्वय चण्डी प्रसाद शर्मा र कमलादेवी गिरी, जिल्ला सहकारी संघ नवलपुरका अध्यक्ष केशव प्रसाद सापकोटा, जिल्ला सहकारी संघ. कास्कीका अध्यक्ष सावित्रा कोइराला,  पोखरा महानगर सहकारी समन्वय समितिका अध्यक्ष तेज नारायण अधिकारी लगायतले शुभकामना व्यक्त गरेका थिए ।

बैंकले चालु आर्थिक वर्षको अन्त्यसम्म शेयर पुँजी ३ अर्ब ५० करोड, निक्षेप संकलन ७८ अर्ब १ करोड, कर्जा लगानी ४९ अर्ब भन्दा बढी गरी ८६ अर्ब १७ करोड भन्दा बढीको कुल कारोवार गर्ने लक्ष्य लिएको अध्यक्ष उप्रेतीले जानकारी दिए । बैंकमा हाल रहेको ३ अर्ब शेयर पुँजीलाई बढाएर ८ अर्ब पु¥याउने लक्ष्य रहेको उप्रेतीको भनाइ छ ।

कार्यक्रममा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सदस्य मित्रराज दवाडी, विनियम संशोधन प्रस्ताव संञ्चालक ध्रुव नारायाण यादव, कार्यविधि संशोधन प्रस्ताव तथा बैंकको केन्द्रीय कार्यालयको लागि भवन निर्माण सम्बन्धी प्रस्ताव सञ्चालक तथा नीतिनियम निर्माण उप–समितिका संयोजक रामहरि बजगाईले  प्रस्तुत गरेका थिए ।

कार्यक्रममा गण्डकी प्रदेशस्तरको पुरस्कार समेत वितरण गरिएको थियो । गण्डकी प्रदेश अन्तरगत उत्कृष्ट हुने बचत तथा ऋण तर्फको पुरस्कार नवलपुरको गैडाकोटस्थित विकु बचत तथा ऋण सहकारी संस्था र कास्कीको पोखरास्थित सराङकोट बहुउद्देश्यीय सहकारी संस्थालाई पुरस्कृत गरिएको थियो ।

बैंकले गर्ने सम्मान र पुरस्कारको बारेमा बैंकका सञ्चालक माधवलाल देवकोटाले जानकारी गराए । नवलपुरस्थित कावासोती स्थित महाराजा वचत तथा ऋण सहकारी संस्थालाई कर्जामा उत्कृष्ट कारोबार गरेको भन्दै ग्रिनकार्ड प्रदान गरिएको थियो ।

पुस १६ गते देखी सुदूरपश्चिम प्रदेशबाट शुरु भएको साधारणसभा कर्णाली प्रदेश, लुम्बिनी प्रदेशमा सम्पन्न भइसकेको छ भने पुस २४ गते एकाई ५ अन्तर्गत बागमती प्रदेशको सभा काठमाडौं, एकाई ६ प्रदेश नं. २ को सभा पुस २६ गते जनकपुर र प्रदेश नम्बर–१ का सम्पूर्ण जिल्लाका प्रतिनिधिहरुका लागि पुस २८ गते मोरङमा हुने बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिए ।



Leave a comment