ललितपुर । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनलले मुलुकको आर्थिक विकासका लागि सहकारी क्षेत्रको सहभागिता आवश्यक रहेको बताएका छन् ।
राष्ट्रिय सहकारी बैंकको १८ औं वार्षिक साधारणसभाको एकाई ५ अन्तर्गत लुम्बिनी प्रदेश स्तरीय सभाको मंगलबार तिलोत्तमा नगरपालिका रुपन्देहीमा उद्घाटन पछि बोल्दै उनले विपन्न समुदायका जनताको आर्थिक विकासका लागि सहकारी मोडेलको योजना आवश्यक हने बताए ।
उनले भने ‘सहकारीको सहभागिता बिना आर्थिक विकास सम्भव छैन ।’ सहकारीको सम्पूर्ण ध्यान कृषि क्षेत्रको उत्पादन, प्रशोधन र बजारीकरणमा लगाउन सकियो भने मात्र आर्थिक विकासमा फड्को मार्न सकिने उनको भनाइ थियो ।
उनले सहकारी बैंकले पनि उत्पादनमुलक क्षेत्रमा बढी भन्दा बढी लगानी गर्न सके जनताले चाहे जस्तो आर्थिक विकास सम्भव रहेको बताए ।
लुम्बिनी प्रदेश सरकारले प्रदेशका विभिन्न जिल्लामा सहकारीद्वारा उद्योग संचालन गर्नु पर्ने भन्दै सहकारीलाई व्यवसायिक गराउन सहकारी ऐन र अन्य ऐन, नियममा देखिएका समस्या समाधान गरेर अगाडि बढ्नु पर्नेमा जोड दिए ।
साधारणसभामा बैंकका अध्यक्ष के.बी उप्रेतीले संञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गर्दै सहकारीहरुको प्रवद्र्धनकालागि सहकारी बैंकले वित्तीय कारोबारसंगै संस्थागत विकास, व्यवसायिक कारोबारमा समेत सहयोग गर्ने बताए ।
बैंकले चालु आर्थिक वर्षको अन्त्यसम्म शेयर पुँजी ३ अर्ब ५० करोड, निक्षेप संकलन ७८ अर्ब १ करोड, कर्जा लगानी ४९ अर्ब भन्दा बढी गरी ८६ अर्ब १७ करोड भन्दा बढीको कुल कारोवार गर्ने लक्ष्य लिएको अध्यक्ष उप्रेतीले जानकारी दिए । बैंकमा हाल ३ अर्ब शेयर पुँजी र यसलाई बढाएर ८ अर्ब पुर्याउने लक्ष्य रहेको उप्रेतीको भनाइ छ ।
कार्यक्रममा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सदस्य मित्रराज दवाडी, विनियम संशोधन संञ्चालक ध्रुव नारायाण यादव, कार्यविधि संशोधन प्रस्ताव तथा बैककको केन्द्रीय कार्यालयको लागि भवन निर्माण सम्बन्धमा सञ्चालक तथा नीतिनियम निर्माण उपसमितिका संयोजक रामहरि बजगाईले प्रस्तुत गरेका थिए ।
सभामा जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिम तुलाचन, राष्ट्रिय सहकारी महासंघका सञ्चालक रामकृष्ण खाँड, नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय सहकारी संघ(नेफस्कुन) बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, महासचिव दामोदर अधिकारीको उपस्थिति रहेको थियो ।
त्यसैगरी लुम्बिनी प्रदेशको आर्थिक मामिला तथा सहकारी मन्त्रालयको सहकारी महाशाखाका रजिस्ट्रार प्रेम आचार्य, प्रदेश सहकारी संघ लुम्बिनीका अध्यक्ष प्रेम सुवेदी, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा लुम्बिनी प्रदेशस्तरको पुरस्कार समेत वितरण गरिएको थियो । लुम्बिनी प्रदेश अन्तरगत जनउत्थान बचत तथा ऋण सहकारी संस्था रुपन्देही, देउराली कृषि सहकारी संस्था बाँके रहेका छन् ।
बैंकको शाखातर्फ उत्कृष्ट र नियमित कारोवार गर्ने बुटवल शाखा कार्यालय अन्तर्गत एकता बचत तथा ऋण सहकारी संस्था बुटवल र इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्था बुटवल पुरस्कृत भएका छन् ।
दाङ शाखा कार्यालय अन्तर्गत घोराही बचत तथा ऋण सहकारी संस्था र नबी बचत तथा ऋण सहकारी संस्था पुरस्कृत भएका हुन् ।
त्यसैगरी बर्दघाट शाखा अन्तरगत सर्वाङ्गिण कृषि सहकारी संस्था सुनवल–१,संकल्प बहुउद्देश्यीय सहकारी संस्था बर्दघाट–४ पुरस्कृत भए ।
कोहलपुर शाखा कार्यालय तर्फ एभरेष्ट कृषि सहकारी संस्था बैजनाथ–४, आस्था बहुउद्देश्यीय सहकारी संस्था कोहलपुर–११, बाँकेलाई पुरस्कार प्रदान गरिएको छ ।
पुस १६ गते देखी सुदूरपश्चिम प्रदेशबाट सुरु भएको साधारणसभा पुस २२ गते एकाई ४ अन्तर्गत गण्डकी प्रदेशका सम्पूर्ण जिल्लाका प्रतिनिधिहरुका लागि पोखरा सभागृहमा हुदैछ ।
त्यसैगरी पुस २४ गते एकाई ३ अन्तर्गत बागमतीप्रदेशका सम्पूर्ण जिल्लाका प्रतिनिधिहरुका लागि काठमाडौ, पुस २६ गते एकाई २ अन्तर्गत प्रदेश नम्बर–२ का सम्पूर्ण जिल्लाका प्रतिनिधिहरुको लागि जनकपुरधाममा
र पुस २८ गते एकाई १ अन्तर्गत प्रदेश नम्बर–१ का सम्पूर्ण जिल्लाका प्रतिनिधिहरुका लागि मोरङमा हुने बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिए ।
Leave a comment