राष्ट्रिय सहकारी बैंकको १८ औं वार्षिक साधारणसभा धनगढीबाट शुरु     

राष्ट्रिय सहकारी बैंकको १८ औं वार्षिक साधारणसभा धनगढीबाट शुरु      :: Sahakari Akhabar

कृषि र सहकारीमार्फत समृद्धिमा जुटौ : सभामुख थापा

ललितपुर । राष्ट्रिय सहकारी बैंकको १८ औं वार्षिक साधारणसभा शुक्रवारदेखि शुरु भएको छ । पहिलो पटक प्रदेश स्तरमा भौतिक रुपमा हुन लागेको वार्षिक साधारणसभा अन्तरगत पहिलो सभा सुदुरपश्चिम प्रदेशको धनगढीबाट शुरु भएको हो ।

एकाई ७ अन्तरर्गत सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजित साधारणसभाको सुदुरपश्चिम प्रदेशका सभामुख अर्जुन बहादुर थापाले उद्घाटन गरेका थिए ।

साधारणसभा उद्घाटन पछि बोल्दै सभामुख थापाले मुलुकको समृद्धिका लागि सहकारीमार्फत कृषि क्षेत्रमा आमुल परिवर्तन आवश्यक रहेको बताए ।

कृषि क्षेत्रलाई आर्थिक विकासको आधार बनाउनका लागि सहकारी क्षेत्रलाई परिचालन आवश्यक रहेको भन्दै उनले सहकारीमा रहेको सीप र पूँजिलाई कृषि क्षेत्रको व्यावसायिकीकरणमा लगाउनु पर्नेमा जोड दिए ।

सहकारी क्षेत्रको प्रद्धर्वनका लागि स्थापित राष्ट्रिय सहकारी बैंकको सेवालाई सुदूरपश्चिम प्रदेशको विकट जिल्लाहरुमा समेत पु¥याउनु पर्नेमा उनको जोड थियो ।

सुदूरपश्चिम क्षेत्रको विकासका लागि सहकारी क्षेत्रलाई प्राथमिकतामा राखेर योजना निर्माण गर्ने तयारी गरेका छौ, सभामुख थापाले भने–प्रदेश सरकारले सहकारी क्षेत्रको योजना निर्माण गर्दा सहकारी बैंकसंग सहकार्य गरेर काम गर्नेछौ ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री तारा लामा तामाङ्गले नेपालको सहकारी अभियानको एकमात्र बैंकका रुपमा रहेको राष्ट्रिय सहकारी बैंकलाई थप व्यवस्थित गराउदै समग्र सहकारी क्षेत्रको साख बढाउनु पर्नेमा जोड दिए ।

सहकारी बैंकलाई मुख्य बैंक बनाएर उत्पादन, प्रशोधन र बजारीकरणका क्षेत्रमा ध्यान दिनु पर्दछ, उनले भने–‘कृषि, कृषक र वातावरण जोगाउने गरी सहकारी बैंकका कामलाई केन्द्रीत गर्नु पर्दछ ।’

मन्त्री तामाङ्गले सहकारी बैंकलाई शाखा होइन, सदस्यमार्फत देशव्यापी रुपमा अगाडि बढाउने गरी वर्तमान सहकारी ऐनलाई संशोधन गर्नु पर्ने सुझाव दिए ।

साधारण सभामा धनगगढी उपमहानगरपालिकाका नगर प्रमुख नृप बहादुर वड, भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव मदन सिंह धामी, सुदूरपश्चिम प्रदेश प्रादेशिक बचत तथा ऋण सहकारी संघका अध्यक्ष माधव प्रसाद जोशीको उपस्थिति रहेको थियो ।

त्यसैगरी नेपाल बहुउद्देश्यीय सहकारी संघका संञ्चालक सुरेन्द्र कुमार शाह, जिल्ला सहकारी संघ कैलालीका अध्यक्ष फणिराज सापकोटा, जिल्ला विद्युत सहकारी संघ कैलालीका अध्यक्ष कृष्ण बहादुर खत्रीको उपस्थिति रहेको थियो ।

जिल्ला बचत तथा ऋण सहकारी संघ कञ्चनपुरका अध्यक्ष भवानी चन्द, जिल्ला बहुउद्देश्यीय सहकारी संघ कञ्चनपुरका अध्यक्ष प्रेम सिंह भाट र जिल्ला सहकारी संघ बजुराका अध्यक्ष दिनेशराज जोशी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

साधारणसभामा बैंकका अध्यक्ष के.बी उप्रेतीले संञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । बैंकले हालै १० वर्षे रणनीतिक योजना तर्जुमा गरेर आर्थिक वर्ष २०७९/०८० देखि आ.व २०८८/०८९ सम्मको लागि विभिन्न रणनीतिक स्तम्भहरु र ध्येय तय गर्दै “उत्कृष्ट वित्तीय सेवा सहितको सहकारी बैंक” परिकल्पना लिई अघि बढाएको बताए ।

उनले बैंकले चालु आर्थिक वर्षको अन्त्यसम्म शेयर पुँजी ३ अर्ब ५० करोड, निक्षेप संकलन ७८ अर्ब १ करोड, कर्जा लगानी ४९ अर्ब रहेको बताए । ८६ अर्ब १७ करोड भन्दा बढीको कुल कारोवार गर्ने लक्ष्य लिएको अध्यक्ष उप्रेतीले बताउनुभयो । बैंकमा हाल ३ अर्ब शेयर पुँजी र यसलाई बढाएर ८ अर्ब पुर्याउने लक्ष्य रहेको उप्रेतीको भनाइ छ ।

कार्यक्रममा लेखा समितिको प्रतिवेदन संयोजक लक्ष्मी प्रसाद उप्रेती, विनियम तथा कार्यविधि संशोधन प्रस्ताव सञ्चालक तथा नीति नियम निर्माण उपसमितिका संयोजक रामहरि बजगाईले प्रस्तुत गरेका थिए ।

सुदूरपश्चिम प्रदेशबाट शुक्रवारदेखी सुरु भएको साधारणसभा पुस १८ गते एकाई ६ अन्तर्गत कर्णाली प्रदेशको राजधानी सुर्खेत, पुस २० गते एकाई ५ अन्तर्गत लुम्बिनी प्रदेशका सम्पूर्ण जिल्लाका प्रतिनिधिहरुका लागि बुटवल, पुस २२ गते एकाई ४ अन्तर्गत गण्डकी प्रदेशका सम्पूर्ण जिल्लाका प्रतिनिधिहरुका लागि पोखरा सभागृहमा हुदैछ ।

त्यसैगरी पुस २४ गते एकाई ३ अन्तर्गत बागमती प्रदेशका सम्पूर्ण जिल्लाका प्रतिनिधिहरुका लागि काठमाडौ, पुस २६ गते एकाई २ अन्तर्गत प्रदेश नम्बर–२, का सम्पूर्ण जिल्लाका प्रतिनिधिहरुको लागि जनकपुरधाममा र पुस २८ गते एकाई १ अन्तर्गत प्रदेश नम्बर,–१, का सम्पूर्ण जिल्लाका प्रतिनिधिहरुका लागि मोरङमा हुने बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिए ।

बैंकका संचालक केदार मानन्धरले संचालन गरेको सभामा बैंकका संचालक शिवा थापाले स्वागत मन्तव्य राखेका थिए । साधारण सभाबाट एकाई वैठकको निर्णय प्रमाण्ति गर्न १७ जना प्रतिनिधिहरु पनि छनौट भएका छन् । साधारणसभामा प्रस्तुत गरिएको सबै प्रतिवेदनहरु बन्दसत्रले सर्वसम्मत पारित गरेको छ ।



Leave a comment