रुपन्देही । रुपन्देहीको सैनासैना–८ बासगढीमा रहेको गुलाब बहुउद्देश्यीय सहकारी संस्था सदस्यको जीवनस्तर सुधार गर्न व्यवसायिक केरा खेतीमा लागेको छ । संस्थाले प्रदेश सरकारसँगको साझेदारीमा ४२ लाख लगानीमा केरा खेती सुरु गरेको छ । केरा कटेज निर्माण गर्ने संस्थाको योजना छ । गत वर्षदेखि संस्थाले ३ बिगाहा क्षेत्रफलमा केरा खेती लगाएकोे अध्यक्ष गोपाल भण्डारीले बताए ।
केरा खेतीमा सिजनमा ५० जनासम्मले काम पाउँछन् । संस्थाले ६ जनालाई नियमित रोजगारी दिइरहेको छ । अध्यक्ष भण्डारीले केराको मम, चिप्स, जुस, अचारका परिकार बनाउने योजना रहेको बताए । बजारमा केराको माग अत्याधिक छ । केरा लगाएको १६ महिनापछि फल दिने भएकाले संस्थाले व्यवसायिक ढंगले उत्पादन बढाउने योजना बनाएको हो । एउटा बोटबाट ५ वर्षभन्दा बढी लाभ लिन सकिन्छ ।
संस्थाका व्यवस्थापक मुकुन्द पराजुली सदस्यको उत्पादन किन्ने गरेको बताउँछन् । संस्थाका सदस्यले कृषि कर्म गर्दै आएका छन् ।
आलु, बेसार, फूल उत्पादन, पशुपालन लगायतका क्षेत्रमा संस्थाले सदस्यलाई प्रोत्साहान गर्दै आएको छ ।
संस्थाले नगदे बाली र बेमौसमी तरकारी खेती गर्न चाहने सदस्यलाई ३ महिना अवधिका लागि ३५ हजारसम्म निब्र्याजी कर्जा उपलब्ध गराउँछ ।
यसले सदस्यलाई खेती गर्न प्रोत्सान गरेकोछ । २०६९ सालमा स्थापना भएको संस्थाको रुपन्देही भर कार्यक्षेत्र छ ।
२५ हजार शेयर पुँजीबाट सुरु भएको संस्थामा ३ करोड शेयरपुँजी पुगेको छ । संस्थाले १३ करोड लगानी गरिसकेको छ । संस्थाले आफ्नै भवन समेत निर्माण गरेको छ । संस्थामा २ हजार ५ सय सदस्य छन् ।
सदस्यलाई स्वरोजगार बनाउन उद्यमशीलतामा जोड दिएको छ । सदस्यहरुलाई आवश्यक पर्ने बीउबीजन, मलखाद र भण्डारणको सेवा पनि दिएको अध्यक्ष भण्डारीले बताए ।
Leave a comment