काठमाडौँ । सामाखुशीमा प्रधान कार्यालय रहेको मुनाल बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष उत्तमबहादुर के.सी.को समापतित्वमा सम्पन्न साधारण सभामा तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहराको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बागमती प्रदेश सरकारका सहकारी रजिष्ट्रार नारायण ज्ञवाली, जिल्ला सहकारी संघ, काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङको विशेष आतिथ्यता रहेको थियो ।
साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष उत्तमबहादुर के.सी., सचिव देवकुमार श्रेष्ठले आर्थिक वर्ष २०७८/०७९को अनुमानित आय व्यय तथा वार्षिक कार्यक्रम र लेखा समितिको तर्फबाट प्रतिवेदन प्रस्तुत गरिएको थियो । उक्त प्रतिवेदन उपर छलफल गरी साधारण सभाबाट पारित गरिएको छ ।
आर्थिक वर्ष २०७७/०७८ मा संस्थाको सेयर पुँजी ३ करोड ३६ लाख १० हजार ७ सय रहेको छ । संस्थाका एक हजार ८ सय ५८ जना सदस्य आवद्ध भएका छन् ।
यस अवधिमा संस्थाको जगेडा र अन्य कोषहरुमा १ करोड २९ लाख ९२ हजार ६ सय ३६ रुपैयाँ रहेको प्रतिवेदन संस्थाका प्रस्तुत गरिएको थियो । त्यस्तै संस्थाले ३२ करोड ७७ लाख ३१ हजार निक्षेप संकलन गरी ३६ करोड ४२ लाख ८८ हजार रुपैयाँ कर्जा लगानी गर्न सफल भएको छ ।
साधारण सभाले सदस्यलाई १५ प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव समेत पारित गरेको छ । त्यस्तै संस्थाको आफ्नै भवन निमार्ण गर्ने सम्बन्धी प्रस्ताव समेत साधारण सभाले पारित गरेको छ ।
कार्यक्रममा तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहराले अझैपनि सदस्यहरुलाई सहकारी बुझाउन बाँकी रहेको बताए । संस्थाको शिक्षा उपसमितिलाई कृयाशिल बनाई सहकारी शिक्षामा जोड दिनुपर्ने बताए । धेरै सहकारीमा सदस्य बन्नुभन्दा पनि एउटै सहकारीबाट कारोबार गर्न सदस्यहरुलाई अग्रह गरे ।
त्यस्तै बागमती प्रदेश सरकारका सहकारी रजिष्ट्रार नारायण ज्ञवालीले सहकारी संस्थालाई दिगो बनाउन सदस्यहरु एकतावद्ध हुनुपर्ने बताए । सदस्यहरुको एकताले नै संस्था अमर हुने उनको भनाई थियो ।
संस्थाले प्रधान कार्यालय सहित ५ वटा कार्यालयबाट सदस्यलाई वित्तीय तथा सामाजिक सेवा प्रदान गर्दै आएको छ । संस्थाले तारकेश्वर–८, जरंखु, बागबजार, नागार्जुनको देवनगर र नयाँ बानेश्वरमा सेवा केन्द्र स्थापना गरी सदस्यलाई विभिन्न सेवा प्रवाह गरिरहेको छ ।
Leave a comment