काठमाडौं । बालाजु माछापोखरीमा प्रधान कार्यालय रहेको मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्थाको ११ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले नयाँ सञ्चालक समिति चयन गरेको छ ।
संस्थाका अध्यक्ष उमाकान्त न्यौपानेको सभापतित्वमा सम्पन्न साधारण सभाको प्रमुख अतिथि नेपाल सरकार सहकारी विभागका रजिस्ट्रार झलकराम अधिकारी रहेका थिए ।
त्यस्तै कार्यक्रममा बागमती प्रदेश सरकारका सहकारी रजिस्ट्रार नारायण ज्ञवाली, जिल्ला सहकारी संघ, काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङ लगायत अतिथिहरुको विशेष उपस्थिती रहेको थियो ।
सभामा संस्थाको वार्षिक प्रतिवेदन, प्रमुख कार्यकारी अधिकृत इन्द्रप्रसाद गेलालले प्रस्तुत गरेका थिए । आर्थिक वर्ष २०७८ ०७९ को लागि सञ्चालक समितिले पारित नीति, अनुमानित बजेट तथा कार्ययोजना र लेखा समितिका संयोजक राजकुमार श्रेष्ठले प्रस्तुत गर्नुभएको लेखा प्रतिवेदन सर्वसम्वत रुपले पारित गरेको छ ।
आर्थिक वर्ष २०७७/०७८ मा संस्थाको सेयर पुँजी अघिल्लो आर्थिक वर्षको तुलनामा ३ प्रतिशतले बृद्धि भई १३ करोड ८० लाख ३९ हजार रुपैयाँ पुगेको छ । त्यस्तै बचत निक्षेपमा २५ प्रतिशतले बृद्धि भई आर्थिक वर्ष २०७७/०७८ मा १ अर्ब २१ करोड ८२ लाख रुपैयाँ पुगेको छ ।
यस अवधिमा संस्थाले १ अर्ब ५२ करोड ३८ लाख रुपैयाँ कर्जा लगानी गर्न सफल भएको थियो । जुन अघिल्लो आ.व.को तुलनामा १० प्रतिशतले बढी हो । त्यस्तै संस्थाको जगेडा कोष र अन्य कोषहरुमा ४ करोड ७३ लाख, कर्जा जोखिम कोषमा ६ करोड ९० लाख रुपैयाँ रहेको छ ।
संस्थाले आर्थिक वर्ष २०७७/०७८ मा १ अर्ब ७३ करोड १७ लाख रुपैयाँ कुल कारोबार गरेको साधारण सभामा जानकारी गराईएको थियो ।
सहकारी संस्थाको निर्वाचनबाट अध्यक्षमा महाशंकर रेग्मीको अध्यक्षतामा सात सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा समिति निर्विरोध चयन गरेको हो ।
समितिको उपाध्यक्षमा बासुदेव भट्ट, सचिवमा इन्द्रप्रसाद गेलाल र कोषाध्यक्षमा रविनकुमार कार्की निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा शेखर बस्नेत, राजकुमार श्रेष्ठ र सरदकुमार अधिकारी चयन भएका छन् ।
त्यस्तै साधारण सभाले लेखा समितिको संयोजकमा उमाकान्त न्यौपाने तथा सदस्यहरुमा प्रकाश घिमिरे र शुभद्रा चौलागाई निर्वाचित गरेको छ ।
Leave a comment