सदस्य चनाखो भएर सहकारीको निगरानी गर्नुपर्छ : अर्याल

सदस्य चनाखो भएर सहकारीको निगरानी गर्नुपर्छ : अर्याल :: Sahakari Akhabar

काठमाण्डौ । पूर्वमन्त्री पद्मा अर्यालले सदस्य चनाखो भएर सहकारीको निगारनी गर्नुपर्ने बताएकी छन् । सहयात्री बचत तथा ऋण सहकारी संस्थाको १६ औँ वार्षिक साधारणसभाका अवसरमा बोल्दै पूर्व भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अर्यालले साधारण सदस्यले सहकारी संस्थाको क्रियाकलापमो चनाखो भएर हेर्नु पर्ने बताएकी हुन् ।

पूर्वमन्त्री अर्यालले सञ्चालक समितिलाई जिम्मेवारीपूर्वक सञ्चालनको लागि सदस्यले सधैं सचेत गराउनुपर्ने बताइन् । लेखा सुपरीवेक्षण समितिले संस्थाको निगरानी गर्दै संस्थामा कमजोरी आउन नदिन बेलैमा सजग हुनुपर्ने उनको भनाइ छ ।

‘कुनैपनि संस्थालाई अगाडि लैजान साधारण संस्थाको महत्वपुर्ण भुमिका हुन्छ, साधारणसभाले सदस्यलाई सहकारीको निगरानी गर्न पनि टेवा प्रदान गर्छ’ उनले भनिन् । सहकारीले गरिबी निवारण, रोजगारी सिर्जना र उत्पादन वृद्धिमा योजनाबद्धढंगले अघि बढ्नुपर्ने बताइन् ।

राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले सहकारीले सदस्यको जीवन परिवर्तनमा सघाउनुपर्ने बताइन् । पुर्व मिस नेपाल सुगारिका केसीले उत्प्रेरणा र नेतृत्व विकास सबै सदस्यलाई दिन आवश्यक भएको बताइन् ।

कार्यक्रममा सहकारी बैंकका सञ्चालक सरिता भट्टराई, राष्ट्रिय सहकारी महासंघका सञ्चालक टेकप्रसाद चौलागाईं, राष्ट्रिय सहकारी बैंक नयाँ बानेश्वर शाखाका प्रमुख विष्णु गिरीलगायत लगायतले शुभकामना मन्तव्य राखे । कार्यक्रममा निर्वाचनमार्फत लेखा संयोजक विपिन कार्की र सदस्यको रुपमा सकिला निरौला निर्वाचित भए ।

सहकारीका ४ हजार ५ सय ९३ सदस्य  छन् । साकोसले २७ करोड कारोबार गरी ५९ लाख २० हजार खुद मुनाफा गरेको छ । सहकारीका कार्यकारी अध्यक्ष खेम सुवेदीले  ग्रामीण लघुबित्त पद्धति अनुशरण गर्दै लघुबित्त कार्यक्रम सञ्चालन गरेको बताए ।

संस्थाले काठमाडौ उपत्यकाभर कार्यक्षेत्र विस्तार, ग्रामीण इलाकामा सेवा केन्द्र थप तथा सदस्य मैत्री नयाँ कार्यक्रमको घोषणा गरेको छ । बालबचतकर्ता बालबालिकालाई गीतार उपहार प्रदान गरिएको थियो । त्यस्तै उत्कृष्ट सदस्यलाई सम्मान गरिएको थियो ।



Leave a comment