झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको २५ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका कार्यवाहक अध्यक्ष हरिप्रसाद निरौलाको अध्यक्षता तथा संबिधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको प्रमुख आतिथ्यमा बार्षिक साधारणसभा सम्पन्न भएको हो ।
संस्थाले आर्थिक वर्ष ७६/०७७ मा दुई लाख सदस्य र १६ अर्बको वासलात बनाउने लक्ष्य राखेको संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले बताए ।
उनले गत आर्थिक वर्षमा ४५ करोड १२ लाख रुपैयाँ खुद नाफा गरेको जानकारी दिए । चालु आर्थिक वर्षमा ६० करोड रुपैयाँ नाफा कमाउने लक्ष्य रहेको छ ।
हाल संस्थाको वासलात १२ अर्ब ७१ करोड ८१ रुपैयाँ पुगेको छ भने आगामी १० वर्षभित्र एक खर्ब रुपैयाँको वासलात बनाउने लक्ष्य संस्थाको रहेको छ ।
प्रतिवेदनअनुसार संस्थाले रणनीतिक योजना अनुसार कार्य क्षेत्र विस्तार गरी प्रदेश १ का १ सय ३७ वटा स्थानीय तहमा पुग्ने लक्ष्य राखिएको जनाए । हाल सहारा नेपाल छ वटा जिल्लामा पूर्ण रुपमा र पाँच जिल्लाका गरी ८० स्थानीय तहमा कार्य क्षेत्र रहेको छ ।
बैंकको भन्दा उच्च ब्याजदर प्रदान गर्ने र ऋणमा बैंक सरह ब्याज दिने, सदस्यलाई मोबाइल बैंकिङ, क्युआर कोड, इटेलर, एटिएम सेवासहितको प्रविधिमैत्री सेवा उपलब्ध गराउने लक्ष्य लिइएको छ ।
एक अर्ब ४६ करोड ६५ लाख रुपैयाँ शेयर पुँजी रहेको संस्थाले ‘म पनि उद्यमी’ कार्यक्रम अघि सार्दै आगामी चार वर्षभित्र १० हजार उद्यमी तयार गर्ने लक्ष्य लिएको सचिव गिरीद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । यो कार्यक्रमले सम्भाव्यता अध्ययन, तालिम, सीप, ऋण, बजार र प्राविधिक ज्ञानमा सहयोग गर्नेछ ।
९४ करोड एक लाख रुपैयाँ जगेडा कोष रहेको संस्थाले अल्पसंख्यक र अति विपन्न सदस्यका सन्तानलाई चिकित्सा शिक्षा (एमबिबिएस) अध्ययनका लागि १० जनालाई सहयोग गर्ने लक्ष्यसहितको कार्यक्रम अघि सारेको छ । सो अन्तर्गत यो वर्ष दुईजनाबाट सुरु गरिनेछ ।
३७ करोड ५७ लाख रुपैयाँको अन्य कोष रहेको सहारा नेपालले संस्थाका दुई सय अति विपन्न सदस्यलाई रासन कार्डको माध्यमबाट चामल, दाल, तेल, नुन, चिनीमा ५० प्रतिशत अनुदान राहत उपलब्ध गराउने लक्ष्य लिइएको प्रतिवेदनमा उल्लेख छ ।
यो वर्षदेखि ‘मेरो गौरव, मेरो सहारा’ र ‘सधैँका लागि, सबैका लागि’ नयाँ नारा तय गरेको संस्थाले अघिल्ला वर्षहरुमा सञ्चालित स्वास्थ्य, सामाजिक, कृषिलगायतका कार्यक्रमहरुलाई अझ परिस्कृत गर्दै निरन्तरता दिने योजना बनाएको छ ।
सामुदायिक विकास कार्यक्रमअन्तर्गत उदयपुर र पाँचथरका विकट गाउँमा प्राथमिक स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स प्रदान गर्ने कार्यक्रमलाई निरन्तरता दिँदै यो वर्ष चारवटा वितरण गरिने जनाइएको छ ।
संस्थाले सहारा हेल्थ सेन्टर स्थापना गरी आधारभूत डाइग्नोसिस सेवा प्रदान गर्न भवन निर्माण गर्ने योजना बनाएको छ । त्यस्तै, स्वास्थ्य र सामाजिक सुरक्षा कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
संस्थाले सदस्यहरुको उत्पादनलाई बजारीकरणमा सहज बनाउन सम्भाव्यता अध्ययन गरी कृषकका १० वटा उत्पादनलाई प्रशोधन, बजारीकरण र उत्पादन प्रविधिमा सहयोग गर्ने लक्ष्य लिएको छ ।
संस्था सहकारी क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको सदस्य सुरक्षा प्रमाणीकरण प्रमाणपत्र प्राप्त गर्न सफल भएको गिरीले जानकारी गराए ।
सोही कार्यक्रमका बीच निजि र सहकारी सहितको तीन खम्बे अर्थनीति मार्फत मुलुकलाई आत्मनिर्भर र समृद्ध बनाउने यात्रामा महत्वपूर्ण योगदान पुर्याएको भन्दैसहकारी अभियन्ता केशवप्रसाद वडाललाई नगद एकलाख एकहजार रुपैयाँसहित विशेष सम्मान गरिएको थियो ।
Leave a comment