मल उत्पादन गर्दै सहकारी

मल उत्पादन गर्दै सहकारी :: Sahakari Akhabar

झापा । कमल–२ स्थित आईपीएम कृषि सहकारी संस्थाले प्रांगारिक मल उत्पादन गर्दै आएको छ । प्रांगरिक मल बनाएर सहकारीले बिक्री वितरण गर्छ । किसानलाई मात्र सदस्य बनाएको आईपीएममा ४०० कृषक सदस्य छन् ।

कृषकलाई बर्सेनि गाईको गोबर, वनको माटो, पिना, हड्डीको धुलो, गाईको गहुँतबाट मल बनाउने गरिएको आईपीएम कृषि सहकारी संस्थाका अध्यक्ष यामबहादुर राईले बताए । चार वर्षअघिबाट मलको उत्पादन सुरु भएको हो ।  

किसानले रासायानिक मल घटाएर सहकारीले उतपादन गरेको प्रांगारिक मल प्रयोग गर्न थालेका छन् ।सहकारीमा आवद्ध कृषकलाई यो मल दुई सय ५० रुपैयाँ प्रति बोरा पर्छ ।  सहकारीमा आवद्ध नभएकालाई प्रति बोरा ४०० पर्छ ।

उनले भने, ‘मलको माग अत्याधिक छ । हामीलाई माग धान्न नै मुस्किल हुने गरेको छ । वर्षमा तीन पटकभन्दा धेरै मल बनाउँछौँ । एक पटकमा ४०० बोरासम्म बनाउन सकिन्छ ।’ मल उत्पादन गर्न ३५ दिन लाग्छ । मल उत्पादनले रासायनिक मल विस्थापनसँगै स्थानीयलाई रोजगारी पनि दिएको अध्यक्ष राई बताउँछन् । 

‘रासायनिक मलले विस्तारै माटोको उत्पादन क्षमता घटाउँदै गएको छ । मानव स्वस्थ्य र प्रकृतिमा पनि गम्भीर असर पु¥याउँछ । त्यसलाई विस्थापन गर्न हामीले मल उत्पादन थालेका हौँ’, उनले भने, ‘अहिले आलु, टमाटर, सागसब्जीलगायतमा यो मलको प्रयोग बढ्दै गएको छ ।’ 

कृषकले प्रांगारिक मल मात्र प्रयोग गर्नेगरी मल बनाउन लागिएको उनका भनाइ छ । वार्षिक १० जनाभन्दा धेरैले निरन्तर रोजगारी पाएका छन् । गाउँ घरमा खेर जाने कुहिने वस्तु मलमा प्रयोग हुन्छ । 

प्रांगारिक मल लगाउन थालेपछि उत्पादन भएको आलु र तरकारीको स्वादमा नै फरक परेको स्थानीय कृषक जानुका मगर बताउँछिन् । रासायनिक मलले स्वास्थ्यमा असर गर्ने जानकारी पाएपछि आफूले पनि चार वर्षयता निरन्तर प्रांगारिक मलको प्रयोग गर्दै आएको उनको भनाइ छ । 

‘रासायनिक मल लगाउँदा उत्पादन धेरै भएको जस्तो लाग्छ । तर, रासायनिक मलले हाम्रो जीवन सक्दै रहेछ । रासायनिक मल लगाएर उत्पादन भएको सागशब्जी र आलुमा आकाश जमिनको फरक छ । यसको स्वाद नै मीठो हुँदैन’। उनी भन्छिन्, ‘तर, प्रांगारिक मल लगाएपछि स्वाद पनि मीठो हुन थालेको छ । सागसब्जी पनि छिट्टो पाक्छ ।’

रासायनिक मलका लागि कृषकले घन्टौँ लाइन बस्नुपर्ने बाध्यता छ । जोखिम मोलेर भारतबाट खुला नाकाको प्रयोग गर्नुपर्ने बाध्यता छ । प्रांगारिक मलले यो सबै समस्याको समाधान क्रमशः गर्दै आएको कमल–२ की कृषक सीतादेवी कट्टेलले बताइन् ।

‘रासायनिक मल लगाउँदा समयमा मल पाउँदैन । लाइन बस्नुपर्छ’, उनी भन्छिन्, ‘तर, प्रांगारिक मलमा त्यो छैन । सहकारीले आफैँ उत्पादन गर्ने हो । भनेको बेलामा मल पाइन्छ । तर, एकैपटक रासायनिक मल पनि हटाउन नहुने रहेछ ।’ 



Leave a comment