भक्तपुर जिल्ला बचत संघको निर्वाचन सहितको साधारण सभा सम्पन्न

भक्तपुर जिल्ला बचत संघको निर्वाचन सहितको साधारण सभा सम्पन्न :: Sahakari Akhabar

भक्तपुर । जिल्ला बचत तथा ऋण सहकारी संघको १७औं वार्षिक साधारण सभाबाट कृष्ण गोबिन्द लाखाजु पुनः अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । दोश्रो चार वर्षे कार्यकालका लागि लाखाजुको नेतृत्वमा नयाँ सञ्चालक समिति निर्वाचित भएको हो । 

संघको उपाध्यक्षमा हरि बल्ल, सचिवमा जगनाथ प्रजापति, कोषाध्यक्षमा कान्छा भक्त घजु, त्यसैगरी सदस्यहरुमा पंचकृष्ण श्रेष्ठ, काजीबहादुर पञ्च, इन्द्र प्रसाद ब्यान्जु, कृश्नश्वरी प्रजापति र सन्तोषी खतिवडा रहेका छन् । 

त्यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा बालमुकुन्द उपाध्याय र सदस्यद्वयमा श्रीप्रसाद त्यातजु र शुशिला पराजुली बराल रहेका छन् । सभामा बोल्दै अध्यक्ष लाखाजुले संघले अन्तरलगानी, शिक्षातालिम तथा पैरवीमार्फत सदस्यसंस्थाहरुको विकास र प्रवद्र्धनमा टेवा पुर्याउँदै आएको बताए ।

सहकारी क्षेत्रमा अझैपनि अन्यौल कायम रहेको बताउँदै उनले सरकारले सन्दर्भ ब्याजदर तोक्ने भन्दा बाहेक ऐनका अन्य कुनै बुँदाहरुलाई कार्यान्वयन गर्न नसकेको बताए ।ऐनमा कर्जा सूचना केन्द्र, कालोसुची तथा कर्जा असुली न्यायाधिकरणको व्यवस्था भएपनि त्यसको कार्यान्वयनमा राज्यले तदारुकता नदेखाएको उनले जनाए । 

संस्थाका सचिव जगनाथ प्रजापतिले आ.व. २०७७।७८ को प्रगति प्रतिवेदन तथा प्रस्तावित कार्यक्रमहरु सभामा प्रस्तुत गरेका थिए । संस्थाका कोषाध्यक्ष कान्छाभक्त घजुले आर्थिक प्रगति तथा अनुमानित बजेट सभामा प्रस्तुत गर्दै संघको शेयरपुँजी गत असार मसान्तसम्म ५ करोड ११ लाख, बचत संकलन १ अर्ब ५६ करोड २३ लाख, ऋण लगानी २७ करोड १२ लाख भएको बताए । संस्थाको कोषहरुमा ५ करोड ५२ लाख ९८ हजार रकम जम्मा रहेको उनले जनाए ।

त्यस अवधिमा संघले २ करोड २१ लाख नाफा आर्जन गरेको छ । संघमा २०७ सदस्य संस्था आवद्ध रहेका छन् । संघका लेखा सुपरीवेक्षण समितिका संयोजक बालमुकुन्द उपाध्यायले समितिको प्रतिवेदन प्रस्तुतका थिए ।



Leave a comment