खोटाङ । खोटाङमा देउसीको रकम सहकारीको भवन बनाउन प्रयोग हुने भएको छ । देउसीभैलोको रकमले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ मा रहेको च्यास्मीटार महिला कृषि सहकारी संस्थाको भवन निर्माण गर्न लागिएको हो ।
अध्यक्ष अमृता राईले देउसीबाट उठेको रकम भवन निर्माणमा उपयोग हुने बताइन् । सहकारीका सदस्य, कर्मचारी देउसी खेलेका थिए । नगरपालिकाको ‘एक वडा एक महिला कृषि सहकारी’ स्थापना गर्ने अभियानअन्तर्गत उक्त सहकारी स्थापना भएको थियो ।
देउसी अभियान दाल्फुबाट बाङमा, हुन्डाखा, सार्पा, पिपलटार, पिपचाही सञ्चालन गरिएको थियो । वडा कार्यालयमार्फत प्राप्त भएको तीन लाखबाट महिला कृषि सहकारी संस्थाको तीन कोठा भएको एक तले भवन निर्माणको काम सुरु गरिएको थियो । देउसीको रकमबाट कार्यालय विस्तार गर्न सघाउ पुग्ने सहकारीका सञ्चालक बताउँछन् ।
भवन निर्माणका लागि नगरपालिकाले ८ लाख उपलब्ध गराउने समूहकी अध्यक्ष राईले बताइन् । निर्माणाधीन भवनको काम पूरा गर्नका लागि देउसी खेलेको रकमले सघाउ पुग्ने उनको भनाइ छ ।
कृषि सहकारीमार्फत महिलालाई आर्थिकरूपमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ नगरपालिकाको नीति अनुसार आर्थिक वर्ष २०७६÷०७७ देखि हरेक वडामा महिला कृषि सहकारी स्थापनाको काम अघि बढाइएको छ ।
तरकारी खेती, फूल खेती, सिन्के धूप उत्पादन, व्यापार व्यवसाय लगायतका उद्यम सञ्चालन गर्न प्रोत्साहित गर्ने र उद्यम सम्बन्धी कामबाट आएको आम्दानीलाई बचत गर्दै महिलालाई आर्थिकरूपमा आत्मनिर्भर बनाउनका लागि नगरपालिकाले वडा–वडामा महिला कृषि सहकारी स्थापनाको अवधारणा अघि सारिएको हो ।
कृषि सहकारीको माध्यमबाट महिलालाई आर्थिकरूपमा आत्मनिर्भर बनाउने तथा ऋणका लागि चर्को व्याज असुल गर्ने वित्तीय संस्थालाई गुहार्नुपर्ने बाध्यताबाट महिलालाई मुक्ति दिलाउने लक्ष्य राखिएको हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर विमला राईले बताइन् ।
Leave a comment