हाइलाइट

सहयोगी सहकारीद्धारा २०३ जना सदस्यलाई सम्मान

सहयोगी सहकारीद्धारा २०३ जना सदस्यलाई सम्मान :: Sahakari Akhabar

ललितपुर । महालक्ष्मी नगरपालिका ८ लुभुमा रहेको सहयोगी बहुउद्देश्यीय सहकारी संस्थाले २५ औं वार्षिकोत्सव एवं रजत वर्षको अवसरमा ७० वर्ष माथिका २०३ जना सदस्यलाई सम्मान गरेको छ ।

संस्थाको बार्षिकोत्सवको उद्घघाटन संस्थाका अध्यक्ष नारायणभक्त श्रेष्ठको सभापतित्व एवं सोही नगरपालिका वडा नं ८ का अध्यक्ष विश्वराज श्रेष्ठको प्रमुख आतिथ्यतामा गरेको हो ।

सोही अवसरमा संस्थाले ज्येष्ठ नागरिक गृह सञ्चार समितिका संयोजक नारायणलाल श्रेष्ठको अगुवाईमा ७० वर्ष माथिका २०३ जना सदस्यलाई नगदसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

त्यसैगरी संस्थाले नेपाल हृदयरोग निवारण प्रतिष्ठान, महालक्ष्मी ईकाईको पहलमा लुभु प्राथमिक स्वास्थ्य केन्द्रमा सदस्यहरुको लागि मुटु परिक्षण सेवा समेत उपलब्ध गराएको छ ।

गत कार्तिक १५ गते देखि साताको दुई दिन सोमबार र बिहीबार एक महिनासम्म मुटु परिक्षण गराउने सदस्यहरुको चिकित्सक शुल्क संस्थाले व्यहोर्ने भएको छ । 

२०५३ साल कार्तिक २२ गते ३१ हजार शेयरपुँजी र ३१ जना संस्थापक शेयरसदस्यबाट शुरु भएको संस्थामा हालसम्म आइपुग्दा ३५९५ शेयरसदस्य, ९ करोड २६ लाख शेयरपुँजी, ८२ करोड बचत संकलन र ६९ करोड ऋण लगानी पुगेको अध्यक्ष श्रेष्ठले बताए ।

संस्थाले आफ्नै भवनबाट सदस्यहरुलाई वित्तीय सेवा दिँदै आएको छ । संस्थाको स्वामित्वमा रहेको जग्गामा ज्येष्ठ नागरिक गृह निर्माण गरी उनीहरुलाई दिवकालिन सेवा दिँदै आएको छ ।

संस्थाले बचत ऋण कारोबार बाहेक वेष्टर्न मावि, सहयोगी सुपथ मूल्य सहकारी पसल, सहयोगी ग्याँस डिपो, सहयोगी अर्गानिक कृषि सेन्टर समेत सञ्चालन गरिरहेको छ ।

संस्थाले विशेषतः सदस्यका छोराछोरीहरुलाई शिक्षित बनाउन संस्थाले सञ्चालन गरेको विद्यालयमा वार्षिक ५ महिनाको शैक्षिक शुल्क भुक्तानी गरिदिँदै आएको श्रेष्ठले जनाए ।

शिक्षालाई नै संस्थाले पहिलो प्राथमिकतामा राखेको उनले बताए । सोही विद्यालयमा अध्ययनरत २० जना जेहेन्दार विद्यार्थीलाई संस्थाले छात्रवृत्ति प्रदान गरी निःशुल्क अध्यापन गराउँदै आएको छ ।

संस्थाले महालक्ष्मी न।पा। वडा नं ७, ८, ९, १० भित्र बसोबास गर्ने स्थानीय समुदायको आर्थिक तथा सामाजिक उत्थानका लागि क्रियाशील रहेर कार्य गर्दै आएको उनले बताए । 

सदस्यहरुलाई वित्तीय सेवाका अतिरिक्त समुदायभित्रका कलासंस्कृतिको जगेर्नामा समेत संस्थाले अग्रणी भूमिका खेल्दै आएको छ। संस्थाले विशेषतः कृषि, टेक्सटायल, घरजग्गा र सदस्यको मागका आधारमा ऋण लगानी गर्दै आएको जनाइएको छ । 




Leave a comment