हाइलाइट

प्यारागन साकोसको कारोबारमा वृद्धि

प्यारागन साकोसको कारोबारमा वृद्धि :: Sahakari Akhabar


खोटाङ । दिक्तेलमा रहेको प्यारागन बचत तथा ऋण सहकारी संस्थाले वर्ष दिनमा दुई करोड ४३ लाख बढीको आर्थिक कारोबार गरेको छ ।

२०६६ सालमा सहकारी डिभिजन कार्यालय उदयपुरमा दर्ता गरेर वर्ष दिनसम्म सञ्चालन गरेपछि निष्क्रिय रहेको प्यारागन सहकारी संस्थालाई पुनः २०७६ सालदेखि सञ्चालनमा ल्याइएको हो ।

बचत गर्ने बानीको विकास गर्दै उत्पादनमूलक क्षेत्रमा ऋण लगानी गर्ने वातावरण निर्माणका लागि २०६६ सालमा स्थापना गरिएको बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७७÷०७८ मा २ करोड ४३ लाख १७ हजार ८६ रुपैयाँ बराबरको आर्थिक कारोबार गरेको हो ।

प्यारागन बचत तथा ऋण सहकारी संस्थाको पुरानो बेसक्याम्पस्थित कार्यालयमा गएको शनिबार आयोजित दोस्रो वार्षिक साधारणसभामा गत आर्थिक वर्ष ९१ लाख ५६ हजार ७०० रुपैयाँ ऋण लगानी गर्दा ३ लाख ७५ हजार ८५७ रुपैयाँ कुल नाफा आर्जन भएको जानकारी दिइएको छ ।

निक्षेप डिपोजिट र कर्जा बचततर्फ १ करोड ५१ लाख ६० हजार ३८६ रुपैयाँ आम्दानी भएको, ऋण लगानीबाट ९ लाख ८१ हजार २ रुपैयाँ व्याज आम्दानी भएको, बचतमा व्याज १ लाख ५२ हजार १७९ रुपैयाँ प्राप्त भएको सहकारीका लेखापाल मङ्गला खड्काले जानकारी दिएकी छन् ।

कुल शेयर पुँजी ५३ लाख ४० हजार रहेको सहकारीको बैंक मौज्दात रकम १ लाख ६८ हजार ७२५ रुपैयाँ रहेको जनाइएको छ । सहकारीको फिर्ता हुन बाँकी रकम ४० लाख ६१ हजार ४३४ रुपैयाँ, उठ्न बाँकी कर्जा रकम ६९ लाख ६५ हजार ४५७ रुपैयाँ, हर्जना र सेवा शुल्क १ लाख ८३ हजार १२० रुपैयाँ, बचत फिर्ता ८४ हजार ११६ रुपैयाँ रहेको आर्थिक प्रतिवेदनमा उल्लेख छ ।

सहकारीको घर भाडामा १ लाख ५६ हजार, तलब भत्तामा ३ लाख २० हजार ६००, मेसिनरी औजारमा २ लाख ४७ हजार ४६०, स्टेशनरी तथा मसलन्द खर्चतर्फ २२ हजार ३५०, लेखा परीक्षण तथा कर चुक्तामा ८९ हजार ७५१, टेलिफोन तथा वाइफाइमा २६ हजार ४९५ रुपैयाँ खर्च भएको छ ।

हाल विशेष शेयर सदस्य ५१ जना र साधारण शेयर सदस्य ३५१ जना रहेको सहकारीले कोभिड–१९ को महामारीका बिचमा पनि सन्तोषजनक कारोबार गरेको जनाएको छ । चालु आर्थिक वर्षदेखि आफ्नै चेक तथा रेमिट सेवा थप गर्ने लक्ष्य राखिएको संस्थाका अध्यक्ष दीपेन्द्र राईले बताए ।

सहकारीको साधारणसभा हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर विमला राईले प्रमुख अतिथिका रूपमा उद्घाटन गरेकी थिइन्।

कार्यक्रममा दिप्रुङ चुइचुम्मा गाउँपालिकाकी उपाध्यक्ष सपना राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष टंकप्रसाद आचार्य, नेपाल शिक्षक संघका अध्यक्ष शिवहरी ढकाल, सहकारीका उपाध्यक्ष एवं कर्जा उपसमितिका संयोजक नइन्द्र राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।



Leave a comment