मेची सहकारीद्धारा सदस्यहरुको सामुहिक चौरासी पूजा

मेची सहकारीद्धारा सदस्यहरुको सामुहिक चौरासी पूजा :: Sahakari Akhabar

दमक । मेची बहुउद्देश्यीय सहकारी संस्थाले ८० वर्ष उमेर पूरा गरेका आफ्ना १३ जना ज्येष्ठ सेयर सदस्यहरुको सामुहिक चौरासी पूजा गरिदिएको छ ।

संस्थाको प्रधान कार्यालय भवन दमकमा वैदिक विधिपूर्वक आयोजित संक्षिप्त चौरासी पूजा पछि ज्येष्ठ सेयर सदस्यहरुलाई जनही नगद ३० हजार रुपैयाँ र बुढेसकालको सहारा एकथान लौरो प्रदान गरेको हो ।

ज्येष्ठ नागरिक, महिला तथा बालबालिका उपसमितिद्वारा आयोजित कार्यक्रममा संस्थाका ७० वर्षभन्दा माथि उमेर समूहका ७० जना नै ज्येष्ठ सेयर सदस्यहरुलाई पनि जनही १५ सय रुपैयाँ र एकथान लौरो प्रदान गरिएको छ ।

संस्था २५ वर्ष पुगेको अवसरमा रजत वर्ष विशेष कार्यक्रम अन्तरगत आयोजित  चौरासी पूजा तथा ज्येष्ठ सदस्य सम्मान कार्यक्रमबाट ८३ जनाले नगदसहित सम्मान पाएका संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले जानकारी दिए।

ज्येष्ठ सदस्यहरुमाझ दशैंको मुखमा ४ लाख ९५ हजार रुपैयाँ वितरण गरेर संस्थाले सामाजिक उत्तरदायित्व निर्वाहमा थोरै टेवा पुर्याएको अध्यक्ष भट्टराईको भनाई थियो ।

उपसमितिका संयोजक शान्ता डाँगीको अध्यक्षतामा पूजा पोखरेलले सञ्चालन गरेको सो चौरासी पूजा तथा ज्येष्ठ सदस्य सम्मान कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य अर्जुन राई थिए । 

कार्यक्रममा दमक नगरपालिकाका प्रमुख तथा संस्थाका संस्थापक अध्यक्ष रोमनाथ ओली, राष्ट्रिय सहकारी बैंकका सञ्चालक सरिता भट्टराई, प्रदेशसभा सदस्य अर्जुन राई, संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराई, वरिष्ठ उपाध्यक्ष पदम थापा लगायतले ज्येष्ठ सदस्यहरुलाई दोसल्ला, अबिर लगाएर नगदसहित लौरो प्रदान गरेका थिए ।

सम्मानित ज्येष्ठ सेयर सदस्यहरुको सूची संस्थाका प्रमुख कार्यकारी अधिकृत खोम बगालेले प्रस्तुत गर्दै सम्मान कार्यक्रम अघि बढाएका थिए ।




Leave a comment