महिला साकोसको एक करोड बढी ऋण लगानी

महिला साकोसको एक करोड बढी ऋण लगानी :: Sahakari Akhabar

चीना थापा, विराटनगर । विराटनगरमा रहेको महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १ करोड ४ लाख ऋण लगानी गरेको छ । सहकारीको शेयर पुजी २३ लाख ५४ हजार रहेको छ भने बचत ५१ लाख १२ हजार ६१९ रुपैया रहेको छ । 

सहकारीकी अध्यक्ष शुसिला घिमिरेले २५ जनाबाट २ लाख ५० हजारबाट शुरु भएको सहकारीले अहिले करौडौंको कारोबार गरेको बताईन । अब सहकारीे ५ बर्ष भित्र आफ्नै भवन बनाउने उदेश्यका साथ अघि बढिरहेको उनको भनाई छ । 

सहकारीलाई राजनितिबाट पर राखेर चलाईएकोले पनि अगाडि बढ्न सकेको घिमिरेको बुझाई छ । ‘शुरुमा राजनीतिमा आवद्ध केही महिलाहरुले सञ्चालन गरेको हो’, उनले भनिन्, ‘सहकारीमा सदस्य बढ्दै गएपछि हामीले सहकारी भित्र छिरेपछि राजनीतलाई पर सारिदिम, त्यसले गर्दा नी अहिले सबै महिलाहरुको सहयोगले सहकारी अगाडि बढेको छ ।’

सँगै खुलेका कतिपय सहकारी बन्द भएको अवस्थामा महिलाहरुको ईमान्दारिताले सहकारी अघि बढ्न सफल भएको अध्यक्ष घिमिरेको भनाई छ । सहकारीकी संस्थापक अध्यक्ष गिता तिमल्सिनाले झोलाबाट सुरु भएको सहकारी संस्थाको शेयर सदस्यको घरमा कति समय सञ्चालन गरेको बताईन ।

१०/११ बर्षसम्म आईपुग्दा सहकारी एक हिसाबले स्थापित भएको उनको बुझाई छ । अब सहकारीलाई अगाडि बढाउन सबै शेयर सदस्यहरुको साथ सहयोग आवश्यक पर्ने हुँदा सबैले आफ्नो संस्था हो भनेर हेरविचार गर्नुपर्ने उनको तर्क छ । 

सहकारीकी सचिव नमिता न्यौपानेका अनुसार सहकारीमा अहिले ३ सय जना भन्दा बढी शेयर सदस्य रहेका छन् । सहकारीले ३० लाख स्वरोजगारबाट ऋण लिएर आफ्ना शेयर सदस्यहरुलाई ऋण प्रवाह गरेको न्यौपानेले जानकारी दिईन । शेयर सदस्यहरुलाई आर्थिक रुपमा सक्षम बनाउनका लागि पनि स्वरोजगार कोषबाट ऋण लिएको उनले बताईन ।

अहिले लिएको ऋण कम्ति भएकाले आगामी दिनमा ऋण लिदा एक करोडसम्म लिने योजना रहेको सचिव न्यौपानेले जानकारी दिईन । सहकारीले समयमा नै स्वरोजगार कोषको ऋण चुक्ता गरेमा एक करोड दिने प्रतिबद्धता कोषले गरेको पनि उनको भनाई छ । 

महिलाले मात्र सञ्चालन गरेका धेरै सहकारीहरु अगाडि बढेका छन् । पुरुषहरुले सञ्चालन गरेको सहकारीहरुमा अनियमितता भए पनि महिलाहरुले सञ्चालन गरेको सहकारीहरुमा त्यस्तो देखिएको छैन। पुरुषको संरक्षणमा रहेका महिलाका नामका कतिपय सहकारीले बदमासी गरेको भएपनि महिलाहरुले आफ्नै नेतृत्वमा सञ्चालन गरेका सहकारीहरु सफल नै भएको देखिन्छ । ती सफल सहकारी मध्ये महिला बचत तथा ऋण सहकारी पनि एक हो । 





Leave a comment