बनेपा । विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले २८औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल यस संस्थाले २८ औं वार्षिक साधारण सभाको समापन गरेको हो ।
संस्थाका अध्यक्ष प्रदिप थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा बागमती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायण प्रसाद देवकोटाले सभा उद्धघाटन गरेका थिए ।
त्यसैगरी बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरे, ज्ञान बहादुर तामाङ र प्रोस्कुनका अध्यक्ष उद्धव सापकोटा विशेष अतिथि रहेका थिए ।
संस्थाले असोज २ गते देखि ९ गते सम्म सदस्यलाई पायक पर्ने सेवा कार्यालय, सेवा केन्द्रबाट सदस्य उपस्थिति भेला गराई सोही स्थानबाट क्षेत्रगत साधारण सभा प्रतिनिधि चयन गरेको थियो ।
असोज ११ गते सम्पूर्ण सेवा कार्यालयमा एकै दिन क्षेत्रगत साधारण सभा संचालन गरी सोही सभाबाट निर्णय प्रमाणिकरणका लागि प्रतिनिधि छनौट भएका प्रतिनिधिहरुको उपस्थितिमा २८औं साधारण सभा समापन तथा निर्णय प्रमाणिकरण कार्यक्रम सम्पन्न गरेको हो ।
सभामा आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन तथा २०७८/७९ को संशोधित र २०७९/८० को प्रस्तावित कार्यक्रम, आ।व। २०७७/०७८ को आर्थिक प्रतिवेदन तथा चालु आव २०७८/७९ को संशोधित र आगामी आव २०७९/८० को प्रस्तावित बजेट तथा कार्यक्रम, आव २०७७/०७८ को लेखा सुपरीवेक्षण समितिको प्रतिवेदनहरु सर्वसम्म्त रुपमा पारित गरिएको थियो ।
संस्थाले साधारण सभाको अवसरमा वागमती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष, सदस्यहरु रामशरण घिमिरे, उद्धव सापकोटा, शान्ति अधिकारी र ज्ञान बहादुर तामाङलाई बधाई ज्ञापन गरेको थियो ।
समूहगत र क्षेत्रगत अवधारणामा संचालित विन्धवासिनी साकोसले सामाजिक तथा सामुदायिक कार्यक्रम संचालन गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गरि काभ्रेपलाञ्चोक तथा काठमाडौ जिल्ला भित्र १८९३ वटा समूह मार्फत ४१ हजार सात सय ४४ जना शेयर सदस्य र ८ हजार २ सय ९४ जना शैक्षिक बाल बचतकर्ता गरी कुल ५० हजार ३८ जना सेवाग्राहीलाई सहकारी सेवा प्रदान गरेको जनाइएको छ ।
३८ करोड ५७ लाख १२ हजार शेयर पूँजी , २ अर्व ८१ करोड ८७ लाख ४८ हजार बचत तथा निक्षेप र २ अर्व ८७ करोड ९८ लाख ६२ हजार ऋण लगानीमा वाँकी रहेको तथा ३ अर्ब ८७ करोड ७२ लाख ८६ हजार कूल सम्पति पुर्याउन संस्था सफल भएको बताइएको छ ।
पाँचौ त्रिवर्षीय व्यवसायिक योजना अनुसार आव२०८१।८२ सम्ममा एक लाख पाँच हजार जनालाई प्रतिस्पर्धी सेवा प्रदान गरी १० अर्ब १२ करोड ५१ लाख कारोबार गर्ने लक्ष्य लिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत के।वि। लामाले जानकारी दिए ।
संस्थाले वित्तीय कारोबार लगायत सदस्य सुरक्षण कार्यक्रम, लघुवित्त कार्यक्रम, लघु जीवन विमा, पशु विमा, बाली विमा, विपे्रषण, ज्ञानमा आधारित विशेष कृषि कार्यक्रम, स्थानीय तहको सहकार्यमा व्याज अनुदान, सहुलियत ऋण, सामाजिक तथा सामुदायिक कार्यक्रम गरेकाे छ ।
साथै सदस्यहरुलाई अत्याधुनिक प्रविधिमा आधारित मोबाइल बैकिङ्ग, ट्वावलेट बैकिङ्ग, एटिएम सेवा, बैंक र संस्था बिच फण्ड ट्रान्सफर सेवा लगायतका कार्यहरु गर्दै आएको र राष्ट्रिय स्तरमा सर्वोत्कृष्ट सहकारी पुरस्कार, उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार, उत्कृष्ट व्यवस्थापक पुरस्कार, उत्कृष्ट करदाता सम्मान, अन्तर्राष्ट्रिय स्तरमा क्युमी अवार्ड, एक्सेस सिल्भर ब्राण्ड, कोभिड १९ को महामारीमा उत्कृष्ट सदस्य सम्मान २०७८ प्राप्त गरेको सभामा जानकारी दिइयो ।
Leave a comment