काठमाडौं । दशैंको चहलपहल सुरु भइसकेको छ । बजारमा किनमेल गर्नेको भीड बढ्दै गएको छ । यसका साथै बैंक तथा बित्तीय संस्थामा नयाँ नोट साट्नेको भीड लाग्न थालेको छ ।
बैंक तथा बित्तीय संस्थाहरुले ग्राहकलाई नयाँ नोट साटीदिइरहेका छन् । राष्ट्र बैंकले बैंक तथा बित्तीय संस्थालाई नयाँ नोट उपलब्ध गराएसँगै बैंक तथा बित्तीय संस्थाहरुले यही असोज ४ गतेदेखि नयाँनोट साट्न थालेका हुन् ।
बजारमा नयाँ नोट आएसँगै सहकारीले पनि आफ्ना सदस्यलाई सटही गरिदिएका छन् । सहकारीलाई राष्ट्र बैंकले नयाँ नोट दिएको छैन । तर उपलब्ध भएसम्म सहकारीले आफ्ना सदस्यलाई नयाँ नोट दिने ब्यवस्था गरेका छन् ।
राष्ट्रिय सहकारी बैंकमार्फत सहकारीले आफ्ना सदस्यलाई नयाँनोट उपलब्ध गराइरहेका छन् । उपत्यकाका शाखा कार्यालयबाट बैंकले सहकारीलाई नयाँनोट उपलब्ध गराइरहेको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले नेपाल राष्ट्र बैंकबाट साढे २३ करोड नयाँनोट लिएर सहकारीलाई वितरण गरिएको बताए । कारोबारका आधारमा एक डेढ लाखसम्म सहकारीले नयाँ नोट पाउँछन् । सदस्यको संख्याको आधारमा बढीमा दुई अढाईलाखसम्म सहकारीले नयाँनोट पाउने गरेको बैंकले जनाएको छ ।
‘पहिला नयाँनोटको माग धेरै आउँथ्यो, अहिले कम छ’ प्रमुखकार्यकारी अधिकृत गुरागाईले भने । सदस्यको माग भएपनि नयाँ नोट दिन नसकिएको हाम्रो साकोस ललितपुरका प्रमुख कार्यकारी अधिकृत इन्द्र घिमिरेले बताए ।
‘संस्थामा लगेर त्यँही पैसा बाड्न पनि झन्झट हुन्छ’ उनले भने । राष्ट्रिय सहकारी बैंक तथा अरु बैंकले दिएमा नयाँ नोट बाँड्ने उनले बताए । पञ्चकन्या साकोसका प्रमुख व्यवस्थापक ठकुर आचार्यले नयाँ नोटका लागि सदस्यको माग आउने गरेपनि दिन नसकिएको बताए। राष्ट्रिय सहकारी बैंक लगायतबाट लिएर सदस्यलाई केही रकम दिने गरेको उनले बताए ।
देशभर ३० हजार सहकारी छन् । सहकारीमा ७३ लाख मानिस आबद्ध छन् । सहकारीमा करिब १ लाखले रोजगारी गर्छन् । दशैंमा नयाँ नोटको विशेष महत्व हुन्छ । केन्द्रीय बैंकले ३५ अर्ब नयाँ नोट वितवरण गर्ने योजना बनाएको छ । ५, १०, २०, ५० र १०० को नयाँ नोट वितरण गर्ने बैंकको तयारी छ ।
Leave a comment