तीन जिल्लाका सहकारीसंग प्रदेश १ को विशिष्टिकृत संघको अन्तक्रिया

तीन जिल्लाका सहकारीसंग प्रदेश १ को विशिष्टिकृत संघको अन्तक्रिया :: Sahakari Akhabar

इलाम । इलाम, पाँचथर र ताप्लेजुङका सहकारीहरु बीच सहकारीका सदस्यहरुको उत्पादन, प्रशोधन र बजारीकरणको विद्यमान अवस्थाका बारेमा इलाममा अन्तरक्रियात्मक गोष्ठी गरिएको छ ।

प्रदेश १ थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघले आयोजना गरेको अन्तरक्रिया गोष्ठीमा सहकारी संस्था र तिनका सदस्यहरुले उत्पादन गरेको बस्तुहरुको बजारीकरणको विद्यमान अवस्थाका बारेमा छलफल भएको थियो ।

पूर्वमा बस्तुको उत्पादन, प्रशोधन र बजारीकरणमा महत्वपूर्ण कार्य गर्न सकिन्छ भन्ने ध्येयले स्थापित थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघले के कस्तो सहयोग गर्यो भने सर्वपक्षीय हीत हुन्छ भन्ने विषयमा सहकारी संघ–संस्थाबाट राय संकलन गरिउको थियो।

राष्ट्रिय सहकारी महासंघले राष्ट्रिय सहकारी बैंक इलाम र फिदिम शाखासँगको सहकार्यमा गोष्ठी सञ्चालन गरेको हो । गोष्ठीमा विभिन्न सहकारी संस्थाका सञ्चालक, कर्मचारी तथा प्रतिनिधिहरुले थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघले सहयोग गर्ने विषयमा जिज्ञासा राखेका थिए ।

प्रदेश १ थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघका अध्यक्ष महेन्द्रकुमार गिरी रहेका छन् । पाँचथर र इलामका सहकारीकर्मीहरुको उपस्थितिमा सम्पन्न अन्तरक्रियामा संघका सञ्चालक प्रेम सापकोटाले सहकारीका सदस्यहरुको उत्पादनलाई व्यवस्थित तरिकाले बजारसम्म पुर्याउन र बाहिरको नाफा भन्दा सदस्यहरुलाई बढी नाफा उपलब्ध गराउन संघ स्थापना भएको जनाए ।

संघ मार्फत् बस्तुको बिक्री गरेमा बजारको अभाव नहुने, खरिद र बिक्री गर्नमा सदस्यहरुलाई सजिलो बनाउने विश्वास दिलाए । सबै संघ–संस्थालाई आवद्ध हुन सञ्चालक सापकोटाले अपील गरेका थिए ।

सो कार्यक्रममा राष्ट्रिय सहकारी बैंक लिमिटेड इलाम शाखाले इलाम जिल्लामा कार्यक्षेत्र रहेका उत्कृष्ट २ वटा सहकारीलाई सम्मान गरेको थियो । कार्यक्रमलाई मनोज लामिछानेले सहजीकरण गरेका थिए ।





Leave a comment