उत्पादनलाई प्राथमिकता दिँदै बहुउद्देश्यीय सहकारी

उत्पादनलाई प्राथमिकता दिँदै बहुउद्देश्यीय सहकारी :: Sahakari Akhabar

काठमाडौं । सरकारले बहुउद्देश्यीय सहकारीलाई उद्देश्य अनुरुप काम गर्न बाध्यकारी व्यवस्था गरेको छ । बचत ३० प्रतिशत मात्र हुनुपर्ने प्रावधान भएपनि अधिकांश बहुउद्देश्यीय सहकारीले शतप्रतिशत बचतकै काम गर्दैै आएका छन् । 

सहकारी ऐन २०७४ मा तीन वर्षभित्र सहकारीले मुख्य कारोबार मिलाउनुपर्ने व्यवस्था छ । त्यसो गर्न नसके नाम परिवर्तन गरेर बचतमै रुपान्तरण हुनुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ । कतिपय सहकारी बचतमा रुपान्तरण भइरहेका छन् । कतिले उद्देश्यअनुरुप काम गर्न सुरु गरिसकेका छन् । 

खासगरी काठमाडौं क्षेत्रका बहुउद्देश्यीय सहकारी बचतमै सीमित छन् । तर पछिल्लो समयमा काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघको सक्रियतामा सहकारीले बचत बाहेक अरु काम गर्न थालेका छन् । 

संघले सहकारीको भेला गरी बहुउद्देश्यीय प्रकृतिका काम गर्न प्रोत्साहन गरीरहेको छ । काठमाडौं भित्रका सहकारीले पनि बचतसँगै अन्य धेरै काम गर्न सकिने संभावना देखाउँदै उद्देश्य अनुरुप काम गर्न हौसाएको हो । 

संघले नगर स्तरमा सहकारी सञ्जाल गठन गरी सहकारीलाई उद्देश्य अनुरुप काम गर्न पनि प्रोत्साहित गर्दै आएको छ । संघले आयोजना गरेको भेलामा प्रशिक्षक कृष्णप्रसाद आचार्यले काठमाडौंका सहकारीले धेरै काम गर्न सक्ने बताए । उनले सहकारीले कृषि, साना तथा मझौला उद्योग, उपभोक्ता र परियोजना सञ्चालन गर्न सक्ने बताए । 

कृषि अन्र्तगत सहकारीले आधुनिक कृषि फार्म, कृषि उत्पादनको भण्डारण, शीत भण्डार, बजारीकरण, पशुपालन, माछापालन, कुखुरापालन, फूल खेती, दुग्ध उत्पादन, चिया तथा कफी उत्पादन, एकीकृत कृषि फार्म सञ्चालन गर्न सक्छन् । 

त्यस्तै साना तथा मझौला उद्योगतर्फ सहकारीले गार्मेन्ट उद्योग ९रेडिमेट तथा तयारी पोशाक०, जुत्ता चप्पल कारखाना, मिनरल वाटर उद्योग, बेकरी उद्योग,  कुटानी÷पिसानी÷ चिउरा मिल, मसला उद्योग, पर्यटन उद्योग सञ्चालन गर्न सक्छन् । 

उपभोक्ता अन्र्तगत बचत तथा ऋण, उपभोक्ता पसल तथा सुपथ पसल, फ्यूल सेन्टर, एम्बुलेन्स लगायतका काम गर्न सक्छन् । परियोजनागत लगानी अन्र्तगत जलविद्युत, हाउजिङ, कृषि परियोजना, होटल, रेष्टुरेन्ट, होमस्टे सञ्चालन गर्न सक्ने आचार्य बताउँछन् । 

काठमाडौं भित्रकै बहुउद्देश्यीय सहकारीले यी मध्ये विविध काम गर्न सक्ने भएपनि बचतमै अल्झिरहेका छन् । काठमाडौं बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष मनोज थापा मगरले सहकारी ऐन अनुसार तत्कालै मुख्य कारोबारको व्यवस्था कार्यान्वयन गर्न सम्भव नभएको बताए ।

तर बहुउद्देश्यीय सहकारी बचतमा मात्र सीमित नभई संस्था र सदस्यको अनुकुल काम गर्नुपर्नेमा जोड दिन्छन् । ऐनमै सहकारीलाई काम गर्न अवसर दिए पनि सम्बन्धीत विषयमा काम गर्न सम्बन्धीत क्षेत्रमा स्वीकृति लिनुपर्ने झन्झटबाट सहकारी हैरानीमा परेका छन् । केही सहकारीले स्वीकृति लिएर काम पनि गरिरहेका छन् ।

अधिकांश सहकारीले काम गर्न बाधा भएको भन्दै अन्य काम गर्न प्रयासै नगरी बचतमै रमाइरहेका छन् । नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघका सचिव माधव तिमिल्सिना बहुउद्देश्यीय सहकारीले एक भन्दा धेरै काम गर्नुपर्ने बताउँछन् । संभावना प्रशस्तै रहेकाले सहकारीले कुनै न कुनै उत्पादनका क्षेत्रमा लगानी गर्नुपर्ने उनको भनाइ छ । 




Leave a comment