काठमाडौं । सहकारीलाई काम गर्न ऐन, कानुन बाधक देखिएको सोमबार आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारी ऐनले बहुउद्देश्यीय सहकारीलाई काम गर्ने अवसर दिए पनि विभिन्न ऐनले अवरोध सिर्जना गरेको बताएका थिए ।
सहकारी ऐनले विभिन्न क्षेत्रमा काम गर्ने अवसर दिए पनि सम्बन्धीत निकायको स्वीकृति लिने प्रावधान झन्झटयुक्त रहेको बताइएको थियो । नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघका सचिव माधव तिमिल्सिनाले सहकारीले ठूला परियोजना सञ्चालन गर्न सक्ने बताए ।
बहुउद्देश्यीय परियोजना बनाएर सहकारीले काम गर्न चाहेको उनको भनाइ छ । ‘उत्पादनमा काम गर्न कम्पनीमै जानुपर्ने बाध्यता छ’,उनले भने,‘कानुनी अड्चन नहटाइ उत्पादनमा जान सकिदैँन ।’
काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष मनोज थापा मगरले सहकारीले बहुउद्देश्यीय काम गर्नुपर्नेमा जोड दिए । सहकारीले बचतमा मात्र सीमित नभई विभिन्न प्रकृतिका बहुउद्देश्यीय काम गर्न सकिने उनले बताए ।
उपाध्यक्ष लक्ष्मीप्रसाद संर्गाैलाले मुख्य कारोबारको प्रावधानले बहुउद्देश्यीय सहकारी मारमा परेको बताए । कार्यपत्र प्रस्तुत गर्दै प्रशिक्षक कृष्णप्रसाद आचार्यले बहुउद्देश्यीय सहकारीले कृषि, उद्योग, उपभोक्तालगायतका काम गर्न सकिने बताए ।
काठमाडौैंममा कृषि तथा कृषिजन्य उद्योग खोल्न सकिने, गार्मेन्ट सञ्चालन गर्न सकिने, कृषिलगायत विभिन्न परियोजना सञ्चालन गर्न सकिने बताए । अन्तर सहकारी कारोबारको प्रावधानले सहकारीमा जोखिम बढ्न सक्ने उनले औैंल्याए ।
विशिष्टिकृत सहकारी संघको प्रावधान अल्झाउने मात्रै काम भएको उनले बताए । सहकारीलाई काम गर्न अवसर प्रशस्त रहेको चुनौती छिचोल्दै काम गर्नुपर्ने बताए । संघका पूर्व अध्यक्ष तुलसीप्रसाद सापकोटाले संघलाई बलियो बनाउँदै कारोबारलाई विशेष जोड दिइएको बताए ।
Leave a comment