१४ औं साधारण सभा सम्पन्न
काठमाण्डौँ । पाँचतारा बचत तथा ऋण सहकारी संस्थाले ७५ वर्ष माथिका सदस्यहरुलाई चाडपर्व खर्च दिएको छ । संस्थाले चाडवाड खर्च बापत जनही २ हजारका दरले रकम प्रदान गरेको हो ।
संस्थाले १४ औं बार्षिक साधारण सभामा यो वर्ष ८ जना जेष्ठ नागरिक सदस्यलाई चाडवाड खर्च दिएको हो । यसै वर्षबाट सुरु गरेको यो कार्यक्रमलाई निरन्तरता दिने संस्थाकी ब्यवस्थापक राधा कडरियाले जानकारी दिइन् ।
संस्थाले स्थानीय स्तरमा रक्तदान, सरसफाई, सामाजिक क्रियाकलाप, खेलकुद, मठमन्दिरको जगेर्ना जस्ता विविध क्षेत्रमा आफ्नो भूमिका निभाउँदै आएको संस्थाका अध्यक्ष भोलानाथ पाठकले जनाए । राष्ट्रिय स्तरमा सहकारी अभियन्ताहरुलाई नियमित रुपमा सम्मान गर्दै आएको अध्यक्ष पाठकको भनाई छ ।
संस्थाले सहकारी विभागले जारी गरेको साधारणसभा सम्बन्धी मार्ग निर्देशन अनुरुप गत भाद्र २० गतेबाट सदस्यहरुका लागि वार्षिक प्रतिवेदन वितरण तथा सुझाव संकलन र उपस्थिति पुस्तिका खुल्ला गरेको थियो । संस्थाले आज विद्युतीय माध्यमबाट साधारण सभाको समापन गरेको हो ।
अध्यक्ष पाठकले सभामा आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कोभिड १९ का कारण एकैपटक सबै सदस्यहरु भेला भएर साधारण सभा गर्न असम्भव भएकाले सदस्यहरुको घरघरमा वार्षिक प्रतिवेदन पु¥याई उनीहरुबाट आएको सल्लाह सुझावका आधारमा साधारणसभा सम्पन्न गरिएको बताए ।
सहकारीमा मात्र सानो रकमबाट संस्थाको मालिक बन्ने अवसर प्राप्त हुने र सहकारीले कुनै वर्ग, जाति, धर्मका आधारमा विभेद नगरी समान व्यवहार गर्ने हुँदा मुलुकमा सबैका लागि सहकारी नै उत्तम विकल्प भएको बताए ।
संस्थाको कारोबार र सदस्यता वृद्धि हुँदै गएकाले कार्यक्षेत्र विस्तार र सेवा केन्द्र सञ्चालनका लागि प्रदेश रजिष्ट्रार कार्यालयमा गत वर्ष नै प्रक्रिया अगाडि बढाएको भएपनि त्यहाँबाट स्वीकृति नआइसकेकाले सेवा विस्तारमा कठिनाई भएको उनले जनाए ।
सदस्यहरुलाई उत्पादनमा जोडिन आग्रह गर्दै उनले भने ‘संस्थाले सरल र सुलभ ब्याजदरमा ऋण प्रवाह गर्छ । महिला उद्यमशीलता विकास गर्न संस्थाले १० प्रतिशत कै हाराहारीमा ऋण दिन्छ । यसको उपयोग गर्न म महिला सदस्यहरुलाई आग्रह गर्छु ।’ प्रति सदस्य १ हजार शेयर पुँजीबाट शुरु भएको संस्थाको गत असार मसान्तमा उपलब्धी मूलक प्रगती भएको उनले बताए
संस्थाका कोषाध्यक्ष कुमार विमलीले आर्थिक वर्ष २०७७।०७८ को आर्थिक विवरण प्रस्तुतगर्दै संस्थाको शेयर पुँजी ६ करोड ६७ लाख, बचत संकलन ४८ करोड ७ लाख र ऋण लगानी ५३ करोड ५६ लाखपुगेको जानकारी दिए ।
संस्थाले त्यस अवधिमा २ करोड ५५ लाख ४१ हजार खुद मुनाफा गरेको र सदस्यहरुलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पारित भएको जानकारी उनले दिए ।
त्यसैगरी संस्थाले सदस्यहरुबाट संस्थागत विकास कोष वापत लिएको रकम मध्ये यो वर्ष १० प्रतिशत र आगामीवर्ष १० प्रतिशत गरी २० प्रतिशत फिर्ता गर्ने भएको छ ।
संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक सुशील प्रसाईंले प्रतिवेदन पेश गर्दै जोखिमविश्लेषण गरी नाफा बाँडफाँडको व्यवस्था मिलाउन र आन्तरिक लेखापरीक्षण विभाग स्थापना गरी सदस्यको हितमाहुने गरी कार्यान्वय गर्दै जान सुझाव दिए ।
सभा समापन समारोहमा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सातै प्रदेशमध्ये बागमती प्रदेशका धेरै सहकारीमा समस्या देखिएकाले त्यसलाई समाधान गरी सुशासनमा ल्याउनु अहिलेको आवश्यकता रहेको बताए ।
कतिपय संस्थामा आएको समस्याका कारण त्यसको असर राम्रोसँग चलेका सहकारी संस्थामा पनि पर्ने भएकाले त्यसतर्फ सचेत हुँदै अभियानसँग सहकार्य गरेर अगाडि बढ्न उनले सुझाव दिए ।
कुनै पनि व्यक्ति सहकारीमा आवद्ध हुनु पूर्वको अवस्था र भइसके पछि उसको जीवनस्तरमा कत्तिको सुधार आयो त्यसले नै संस्थाको सफलता मापन गर्ने उप्रेतीले बताए ।
संस्थाले सदस्यहरुमा व्यवसायिकता, उद्यमशीलता, नेतृत्व विकास र स्तरोन्नतिमा खेलेको भूमिकाले नै संस्थाको क्रियाशीलता देखिने उनले बताए ।
कुनै व्यक्ति एउटा बचत ऋण सहकारीमा सदस्य छ भने ऊ एउटै कार्यक्षेत्र भित्रको एकै प्रकृतिको संस्थाको सदस्य बन्न आवश्यक नरहेको भन्दै उनले ‘यदि संस्थाको गतिविधि र व्यवहार प्रति असन्तुष्टि भए सञ्चालक समिति र व्यवस्थापनसँग आफ्ना कुरा राख्नुपर्छ ।
सदस्यले सम्पूर्ण कारोबार एउटै संस्थामा गर्नु पर्छ र संस्थाले पनि सदस्यको आर्थिक तथा सामाजिक आवश्यकतालाई जसरी भएपनि पूरा गर्ने प्रयास गर्नुपर्छ ।’
पाँचतारा पल्र्स, वित्तीय सूचांक, सुशासन र अन्य गतिविधिका हिसाब सबल संस्था बनेकाले आफ्नो कार्यक्षेत्र भित्रका अरु संस्थाहरुलाई पनि सबल, सक्षम र सुशासनयुक्त बनाउन नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए ।
त्यसैगरी कार्यक्रमका कास्कूनका अध्यक्ष दिपक पनेरुले पछिल्लो समयमा विशेषतः बचत ऋण सहकारीमा समस्या बढेको बताए । सहकारीको मुल्य मान्यता र सिद्धान्त अनुरुप नचल्ने एवं सहकारीको बोर्ड झुण्ड्याउने काम र व्यवहार भने फरक गर्ने संस्थाहरुका कारण सहकारीको छवि धुमिलिएको उनको भनाई छ ।
राजनीतिक पहुँचका भरमा चलेका सहकारीमा नै बढी समस्या आएको भन्दै उनले सहकारी क्षेत्रको विकृतिलाई न्यूनिकरण गरी सदस्यमुखी दृष्टिकोणका साथ अभियानलाई अघि बढाउनुपर्ने बताए । संस्थाका उपाध्यक्ष विजय मल्लले स्वागत मन्तब्य राखेको सभा सचिव लोचनहरि प्रसाईंले सञ्चालन गरेका थिए ।
Leave a comment