राजसति महिला सहकारीद्धारा ९१ जना जेष्ठ नागरिकहरुलाई सम्मान

राजसति महिला सहकारीद्धारा ९१ जना जेष्ठ नागरिकहरुलाई सम्मान :: Sahakari Akhabar

चीना थापा, विराटनगर । बुढीगंगा गाउँपालिकामा रहेको राजसति महिला बहुउद्देश्यीय सहकारी संस्थाको २१ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाले ९१ जना जेष्ठ नागरिक तथा १२ जना एकल महिलालाई पनि सम्मान गरेको छ । सभामा प्रदेश नं. १ का प्रदेश प्रमुख  सोमनाथ अधिकारी प्यासीले सहकारी धनको समस्याको समाधान मात्र नभई मानिसको मनको समस्याको समाधान पनि भएको बताएका छन् ।

सभामा अधिकारीले बाहिर धेरै नमिलेका मनहरु सहकारीमा आवद्ध भएपछि मिल्ने गरेको बताए । सहकारीमार्फत धेरै समृद्धको काम भएको उनको भनाई छ ।

‘बन्दुकको मात्र युद्ध हुंदैन’, उनले भने, ‘सहकारीको पनि युद्ध हुन्छ । सहकारीको युद्धले समृद्ध ल्याउछ । महिलाहरुको आर्थिक स्थितिमा पनि परिवर्तन ल्याउन सहकारीको भूमिका महत्वपूर्ण छ ।’ सहकारी मार्फत धेरै महिलाहरु अघि बढेको अधिकारीले बताए ।

संस्थाकी अध्यक्ष तारादेवी राईको अध्यक्षतामा भएको बार्षिक साधारण सभामा संस्थाको बाषिृक प्रतिवेदन प्रस्तुत गरिएको थियो । प्रतिवेदन अनुसार संस्थाको शेयरपुँजी १ करोड १४ लाख ६९ हजार ८ सय रहेको छ ।

त्यसैगरी बचत ९ करोड ९० लाख ८१ हजार ९ सय ९८ रुपैया रहेको छ । त्यसैगरी संस्थाले १२ करोड ९ लाख ४८ हजार ३ सय ७५  रुपैया ऋण लगानी गरेको जनाइएको छ ।

सहकारीले शेयर सदस्यका लागि आयआर्जन क्षेत्रमा विभिन्न कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको सहकारीकी सचिव तुलसी विष्टले जानकारी दिईन । 

असोज १ गतेबाट सुरु भएको सहकारीको साधारणसभा ७ गते सकिने सहकारीले जनाएको छ । कोनोना जोखिमका कारण थोरै थोरै सदस्यको सहभागितामा विभिन्न सुझावहरु संकलन गर्ने र सहकारीका आगामि योजनाको बारेमा छलफल गर्ने सहकारीकी अध्यक्ष राईले जानकारी दिईन । 

सहकारीमा ९ सय २ जना शेयर सदस्य रहेको छन् । सहकारीले ज्येष्ठ महिला शेयर सदस्य सम्मान, एक्कल महिला शेयर सदस्यलाई प्रोत्साहन, ज्येष्ठ आमा, बुबा, सासु आमा, ससुराबुबा, र पति सम्मान लगायतका कार्यक्रमहरु पनि सञ्चालन गरिरहेको छ। 

सहकारीले विपन्न पिछडिएका शेयर सदस्यहरुलाई आर्यआर्जनको लागि बाख्राको पाठी पनि वितरण गर्दै आएको छ । शेयर सदस्यले लगेको बाख्राले जन्माएको पहिलो पाठी भने संस्थालाई दिनुपर्ने सर्तमा सहयोग गर्ने गरेको सहकारीकी अध्यक्ष राईले जानकारी दिईन ।

त्यसपछि सबै शेयर सदस्यको नै हुनेछ । अहिलेसम्म ५ जनालाई सहयोग गरिसकेको छ । महिलाले मात्र सञ्चालन गरेको राजसति महिला बहुउद्देश्यीय सहकारी गाउँपालिकाको उत्कृष्ट सहकारी हो । सहकारीको आफ्नै भवन रहेको छ । 




Leave a comment