महिला मिलन साकोसले सदस्यलाई ४० लाख सम्म ऋण दिने

महिला मिलन साकोसले सदस्यलाई ४० लाख सम्म ऋण दिने :: Sahakari Akhabar

श्रीराम अर्जुन, हेटौंडा । हेटौंडा उपमहानगर वडा नम्बर १३ मा रहेको महिला मिलन बचत तथा ऋण सहकारी संस्थाको २१ औं वार्षिक साधारणसभा भएको छ । विहीबार भएको साधारणसभाको उपमेयर मिनाकुमारी लामाले उद्घाटन गरेकी थिइन् । 

सभामा विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो । संस्थाले जेष्ठ शेयर सदस्य तिर्थ कुमारी नेपाल, शान्ति माया हिडडुङ र हिरामाया  रुम्बालाई नगद सहित सम्मान गरिएको थियो । त्यस्तै सहकारीमा कार्यरत सह व्यवस्थापक दिपेश अधिकारीलाई उत्कृष्ट कर्मचारीबाट सम्मान गरिएको थियो भने हेटौंडा सन्देशमा कार्यरत पत्रकार निशा गुरुङलाई पनि सहकारीले सम्मान गरेको थियो । 

५ हजार २७८ शेयर सदस्य रहेको सहकारीमा  ४ करोड ९७ लाख ४७ हजार ९०० शेयरपुँजी रहेको छ । संस्थाको बचत निक्षेपमा ४० करोड २६ लाख १६ हजार ४७८ रहेको छ भने आफ्ना शेयर सदस्यलाई विभिन्न ऋण शीर्षकमा ४५ करोड ७८ लाख २५ हजार ४७६ ऋण लगानी गरिएको संस्थाका व्यवस्थापक फुलमाया मोक्तानले बताइन् ।

सहकारीले शेयर सदस्यहरुलाई विशेष ऋण सीमा ३० लाखसम्म प्रदान गर्ने गरिएको र आगामी दिनमा वृद्धि गरी ४० लाख सम्म लगानी गरिने मोक्तानले बताइन् । सहकारीले आफ्ना शेयर सदस्यलाई व्याजदर फरकफरक राखी कृषि तथा पशुपालन, लघु उद्यम, व्यावसायिक, हायर पर्चेज, शैक्षिक, घरजग्गा खरिद, दैनिक बचत ऋण, आपतकालीन र खरखाँचो ऋणका शीर्षकहरुमा लगानी गर्ने गरिएको व्यवस्थापक मोक्तानले बताइन् ।  

सहकारीले आव २०७७ / ०७८ मा ५६ करोड ८७ लाख ६८ हजार ८४०को कारोबार गरि १ करोड १७ लाख ११ हजार ११२ बचत गरी नाफा गर्न सफल भएको छ । यस्तै आगामी आर्थिक वर्षमा ६२ करोड कारोबार गर्ने र १ करोड ४० लाख नाफा गर्ने लक्ष्य राखेको महिला मिलन सहकारी संस्थाका अध्यक्ष विष्णुमाया लामाले बताइन् ।

कोरोना कहरका बीच पनि विभिन्न कार्यक्रमहरु गर्दै आएको बताउदैं अध्यक्ष लामाले यस वर्ष बचत व्यवस्थापन, ऋण व्यवस्थापन, आपसी सहयोग कोष (राहत वितरण), सुत्केरी र विरामी भेटघाट, शैक्षिक सम्मान, आर्दश दम्पती सम्मान, जेष्ठ शेयर सदस्यलाई सम्मान लगायत विभिन्न किसिमका कार्यक्रम गरिएको बताइन् ।  

कार्यक्रममा हेटौंडा–१३ को वडाअध्यक्ष मनोज वाइबा, हेटौंडा–१२ का वडाअध्यक्ष ललित घलान, संस्थाका संस्थापक अध्यक्ष सुकुमाया थिङ, सहकारी संस्थाका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।



Leave a comment