चीना थापा, विराटनगर । राष्ट्रसेवक बहुमुखी सहकारीले जेष्ठ सदस्यलाई बार्षिक रुपमा भत्ता दिंदै आएको छ । संस्थाले ७५ बर्ष नाघेका नियमित बचत गर्ने शेयर सदस्यलाई बार्षिक रुपमा २ हजार भत्ता दिने गरेको छ ।
त्यसैगरी संस्थाले सदस्यका बच्चालाई पोषण भक्ता पनि प्रदान गर्ने गरेको छ । दुई सन्तानलाई ५/५ हजारका दरले पोषण भक्ता दिने व्यवस्था गरेको सहकारीले जनाएको छ ।
त्यसैगरी शेयर सदस्यको मृत्यु भएमा परिवारलाई १५ हजार नगद सहयोग गर्ने गरेको सहकारीका प्रवन्धक नरबहादुर कार्कीले बताए ।
निजामती कर्मचारी र कर्मचारीका परिवारले मात्र सहकारीमा सदस्य बन्न पाउँछन् । सहकारीमा अहिले १७ सय शेयर सदस्य रहेका छन् । ६ जना कर्मचारी कार्यरत छन् ।
कर्मचारीहरु भएका कारण बचतमा समस्या नभए पनि ऋण लगानीमा भने केही समस्या हुने गरेको कार्कीले बताए । शेयर सदस्यहरु आर्थिक रुपले सक्षम भएका कारण ऋण लगानी कम हुँदै जाने हो की भन्ने चिन्ता सहकारीलाई छ ।
संस्थाको नाफा ३५ लाख २७ हजार रहेको छ । ७९ हजार २५ लाख नाफा कमाएको सहकारीले असारमा आफ्ना सदस्यहरुलाई १० प्रतिशत बोनस वितरण गरेको थियो । बोनस वितरणपछि बचेको नाफा ३५ लाख २७ हजार हो ।
सहकारीको ३७ करोड १ लाख ६ हजार सम्पती दायित्व रहेको छ । सहकारीले ३ करोड २६ लाख ६९ हजार आम्दानी गरेको र ३ करोड ३ लाख ५३ हजार खर्च गरेको सहकारीका प्रवन्धक कार्कीले जानकारी दिए ।
कार्कीका अनुसार सहकारीले २३ करोड ६३ लाख ३ हजार ऋण लगानी गरेको छ भने शेयरपुजी ५ करोड ६८ लाख १४ हजार ८ सय रुपैया र बचत २७ करोड ५२ लाख रहेको छ ।
संस्थाको गतिविधि सदस्यलाई जानकारी दिने उदेश्यले सहकारीको फेसबुक पेज, अनलाईन सेवा र एसएमएस सेवा पनि सञ्चालनमा ल्याएको छ ।
सहकारीले शेयर सदस्यको सुविधाको लागि ग्यास पसल पनि सञ्चालन गरेको छ । सदस्यबाहेक बाहिरका ग्राहकलाई पनि विक्री गर्ने गरेको कार्कीले जानकारी दिए । बिषेश गरी शेयर सदस्यलाई प्राथमिकतामा राखेर ग्यास विक्री वितरण गर्ने गरेको सहकारीले जनाएको छ ।
Leave a comment