एमालेमा २० सदस्यीय केन्द्रीय सहकारी तथा गरिबी निवारण विभाग गठन

एमालेमा २० सदस्यीय केन्द्रीय सहकारी तथा गरिबी निवारण विभाग गठन :: Sahakari Akhabar

काठमाडौं । नेकपा एमालेमा सहकारी तथा गरिबी निवारण विभाग गठन भएको छ । एमालेले कमल चौलागाई प्रमुख रहेको २० सदस्यीय केन्द्रीय सहकारी तथा गरिवी निवारण विभाग गठन गरेको हो । २५ सदस्यीय विभागले पूर्णता पाएसंगै थप योजनाका साथ विभागका गतिविधिलाई तिब्रता दिइने बताइएको छ । 

एमालेले सहकारी विभागलाई पार्टीको सहकारी तथा गरिवी निवारण सम्बन्धी नीति, प्रस्तावहरु तथा योजनाहरु तयार गरी पेश गर्न निर्देशन दिएको छ । सहकारीहरुको तथ्यांक संकलन र तिनीहरुको जनमुखी एवं प्रभावकारी सञ्चालन सम्बन्धी योजना तयार गर्ने पनि योजना बनाएको छ । 

सरकारको सहकारी नीति तथा गरिबी निवारण कार्यक्रमका बारेमा अध्ययन गर्ने उसको प्राथमिकतामा परेको छ । सहकारी तथा गरिवी निवारण सम्बन्धी गोष्ठी र छलफल कार्यक्रम सञ्चालन गर्ने लगायतका कार्यक्रम तय गरिएका छन् । 

बैठकमा सात वटै प्रदेशमा सहकारीको पछिल्लो अवस्था, सहकारीको विकासका लागि एमालेका तर्फबाट भएका प्रयास र आगामी योजनाका बारेमा छलफल भएको थियो ।  विभागको पहिलो बैठकले केन्द्र, प्रदेश, जिल्ला र स्थानीय स्तरमा गोष्ठी तथा प्रशिक्षण सञ्चालन लगायत आगामी योजना निर्माणका लागि ५ सदस्यीय कार्यदल गठन गरेको छ । 

विभागीय प्रमुख कमल चौलागाईको संयोजकत्वमा गठित कार्यदलमा विभागका पूर्व सचिव केबी उप्रेती, सदस्यहरु रमेशप्रसाद पोखरेल, डिबि बस्नेत र परितोष पौड्याल कार्यदलमा छन् । 

सहभागीले ०७५ जेठ २ पूर्वको विभागका सदस्यहरु वर्तमान विभागमा नपरेको, महिलाको सहभागिता कम रहेको, सहकारीका केन्द्रीय र प्रदेश संघहरुको अभियानमा नेतृत्व गर्ने व्यक्तिहरु छुटेको लगायतका विषयमा विभागीय प्रमुखको ध्यानाकर्षण गराएका थिए । 

पार्टीका नेता कार्यकर्ता लगायत आम समुदायलाई सहकारीमा आवद्ध गराउदै उनीहरुको आर्थिक विकास र सामाजिक रुपान्तरणका क्षेत्रमा प्रभावकारी काम गर्ने विभागले तयारी गरेको छ । नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका विभाग प्रमुख चौलागाईले सहकारी विभागका सबै सदस्यहरुको सक्रिय भूमिका आवश्यक रहेको भन्दै सहकारी क्षेत्रको सबलताले नै समाजवाद निर्माणको आधार तयार पार्ने बताए ।



Leave a comment