नेफ्स्कूनको ३४ औं स्थापना दिवसमा, विविध विधाका सम्मान र पुरस्कार घाेषणा

नेफ्स्कूनको ३४ औं स्थापना दिवसमा, विविध विधाका सम्मान र पुरस्कार घाेषणा :: Sahakari Akhabar

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कून)ले विविध कार्यक्रम गरी ३४ औं स्थापना दिवस मनाएको छ।संघले राष्ट्रिय सहकारी महासंघको सभाहलमा ३४ औं स्थापना दिवस कार्यक्रम सम्पन्न गरेको हो ।

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले उद्धघाटन गरेका थिए। अर्थमन्त्री शर्माले ‘संघहरु शासक नभइ सेवाका लागि हुनुपर्ने बताए । बचत तथा ऋण सहकारीका समस्या समाधान गर्न संघहरुले भूमिका खेल्नुपर्ने उनले भने ।

सहकारी स्थिरीकरण कोष खडा गर्न किन ढिलाई गरेको भन्दै अर्थमन्त्री शर्माले प्रश्न गरे । ‘कोष सञ्चालनमा नआउँदा सहकारी संकटमा परेका छन्’ उनले भने ।

समस्या समाधान गर्न संघले ध्यान दिनुपर्ने उनको भनाइ छ । ‘पैसाको अभाव हो कि सरकारले दिने पैसा नदिएर हो, या संघ आफैंले सञ्चालन गर्न चासो नदेखाएको हो ’ उनले प्रश्न गरे ।

अर्थमन्त्री शर्माले सिभिल सहकारीको समस्या समाधान गर्न संघहरुले उचित ध्यान दिनुपर्ने बताए । ‘सिभिलको समस्या समाधान गर्न संघहरुले के गरेका छन्’, उनले भने,‘किन जिम्मेवारी लिन सकेका छैनन् ।’ 

निक्षेपकर्ताहरु सहकारीको अर्बाै पैसा नपाएको भन्दै रोइरहेको उनले बताए । ‘त्यो पैसा बचतकर्ताले पाउनुपर्छ,’ उनले भने, ‘ठगी धन्दा नियन्त्रण गर्न संघहरुले जोड दिनुपर्छ ।

सहकारी, निजी र सार्वजनिक क्षेत्रको हातेमालोबाट देश निर्माण अघि बढ्नुपर्ने उनले बताए । साकोसको सदस्य ३३ लाख होइन । करोडमा पुर्याउन र उद्यमशीलता बढाउन आग्रह गरे ।

साथै उनले सहकारी सशक्त खम्बा बन्नुपर्नेमा जोड दिए । ‘तीन खम्बामध्ये सहकारीलाई सबल खम्बा बन्न आवश्यक वातावरण, सेवा सुविधा, नीति, नियम के चाहियो भन्नुहोस्, फुकाउन तयार छु ।’ उनले भने ।

ऋण नतिर्ने सहकारीका सदस्यलाई के गर्नुपर्ने हो त्यो गर्न तयार रहेको अर्थमन्त्री शर्माले बताए । ‘अधिकार, नीति, नियम बनाउन आवश्यक सहयोग गर्ने छु’, उनले भने ।

ऋणको दुरुपयोग हुन दिन नहुनेतर्फ सजग हुनुपर्ने उनले बताए । ‘नियतवस संस्थापक नै रकम दुरुपयोग गर्ने, व्यापारमा लगाउने यो मान्ने हुँदैन ।’, उनले भने ।

अर्थमन्त्री शर्माले उत्पादनमूलक क्षेत्रमा लगानी नगर्ने सहकारीको काम नभएको बताए । उनले सहकारीको पैसा उत्पादनमूलक क्षेत्रमा लगाउन निर्देशन दिएका हुन् । कुल बचतको ६० प्रतिशत उत्पादनमा लगानी गर्न उनले सहकारीलाई निर्देशन दिए ।

‘तपाईहरुको लगानी केमा छ ? अर्थमन्त्री शर्माले भने, ‘जग्गा किन्न, गाडी किन्न लगानी भएको भए सहकारीको अर्थ छैन । नेफ्स्कूनले सहकारीको पैसा उत्पादनमा लगानी गर्ने वातावरणको भूमिका खेल्नुपर्ने बताए । ‘उत्पादन बढाउन ब्याज सस्तो हुनुपर्छ,’ उनले भने । 

त्यसैगरी सहकारीले ब्याजदर पनि बढी लिएको बताए । ‘१७/१८ प्रतिशत ब्याज लगाएको सुनेको छ,’ उनले भने,‘उत्पादन बढाउन ब्याज सस्तो हुनुपर्छ ।’ गरिबी निवारणका क्षेत्रमा नागरिकले ऋण पाउनुपर्ने भएपनि व्यवहारमा त्यसो नभएको उनले गुनासो गरे ।

नीतिहरु ठिक ढंगबाट जान नसकेकाले पनि उत्पादन नभएको उनले बताए । ‘नेफ्स्कूनले उत्पादन क्षेत्रमा लगानी गर्न घोषणा गरोस्’, उनले भने, ‘सहकारीमा पुँजी पनि छ ।

कार्यक्रममा नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्वागत मन्तब्य राख्दै नेपालको बचत ऋण अभियानको अपेक्षालाई पूर्णता दिन नेफ्स्कूनले प्रविधि विस्तार र स्थिरीकण कोषको प्रभावकारी सञ्चालनमा प्राथमिकताका साथ लागेको बताए।

नेफ्स्कूनका निवर्तमान अध्यक्ष डी.बी. बस्नेतले यस बर्षको सम्मान तथा पुरस्कार घोषणा गरेका थिए । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशव बडालले शुभकामना मन्तव्य राखेका थीय ।

त्यसैगरी राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल, सहकारी विभागका रजिष्ट्रार लिला प्रसाद शर्मा, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेल, नेफ्स्कूनका पूर्व अध्यक्ष ऋषिराज घिमिरेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

पुरस्कार र सम्मान


संघले ३४ औं स्थापना दिवसको अवसरमा उत्कृष्ट कार्य गरेवापत विभिन्न १६ विधामा संघ संस्था तथा व्यक्तिहरुलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।

सम्मान तथा पुरस्कार पाउनेहरुमा संस्थापक अध्यक्ष पुरस्कार महिलातर्फ निजगढ महिला साकोसकी पूर्व अध्यक्ष एवम् निजगढ नगरपालिकाकी उपमेयर लिलादेवी लामिछाने खनाल तथा नेफ्स्कूनका पूर्व सञ्चालक एवम् दोलखा जिल्ला बचत संघका पूर्व अध्यक्ष रामदास श्रेष्ठ रहेका छन्।

त्यसैगरी नेफ्स्कून सर्वोत्कृष्ट साकोसमा महिलाद्वारा सञ्चालित बागेश्वरी महिला साकोस, मकवानपुर र रुपन्देहीस्थित जनउत्थान साकोस रहेका छन् । 

नेफ्स्कून प्रदेशस्तरीय उत्कृष्ट साकोसहरुमा प्रदेश १ बाट प्रगती साकोस–दमक, प्रदेश २ बाट स्वस्तिक साकोस–सर्लाही, बागमती प्रदेशबाट शिक्षक कल्याण साकोस–दोलखा रहेका छन् ।

त्यसैगरी गण्डकी प्रदेशबाट जनसेवा साकोस, पुरुन्चौर–पोखरा, प्रदेश ५ बाट सयपत्री साकोस–नवलपरासी, कर्णाली प्रदेशबाट स्वावलम्बी साकोस –सुर्खेत र सुदुरपश्चिम प्रदेशबाट जनकल्याण साकोस –कैलाली रहेका छन् ।

हाम्रो जनकल्याण साकोस दोलखाका प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेतले नेफ्स्कून सर्वोत्कृष्ट व्यवस्थापक पुरस्कार पाउने भएका छन् ।

प्रदेशगत उत्कृष्ट व्यवस्थापक पुरस्कार पाउनेहरुमा प्रदेश १ को श्री जनकल्याण साकोस –सुनसरीका मनोज कुमार सुतियार, प्रदेश २ को नवविकास साकोस –चन्द्रपुर रौतहटका यज्ञ प्रसाद प्रसाई, बागमती प्रदेशको जनकल्याण साकोस –धादिङका कृष्णकान्त मिश्र रहेका छन् ।

त्यसैगरी गण्डकी प्रदेशको गैडाकोट स्वाभिमान साकोस–नवलपरासीका रामचन्द्र सुवेदी, लुम्बिनी प्रदेशको ग्रामीण साकोस बर्दघाट नवलपरासीका अनन्त पाण्डे, कर्णाली प्रदेशको पिपलबोट साकोस सुर्खेतका रमेश जैशी र सुदुरपश्चिम प्रदेशको जिवनज्योति साकोस बैतडीका टेकराज लेखक रहेका छन् ।  

नेफ्स्कून अग्रज व्यक्तित्व सम्मान महिलातर्फ संघको निवर्तमान सञ्चालक चन्द्र कुमारी खड्का–झापा र पुरुषतर्फ नेफ्स्कूनका पूर्व सञ्चालक नारायण घिमिरे–काठमाडौं घोषित भएका छन् । 

कञ्चनपुर जिल्ला बचत तथा ऋण सहकारी संघ उत्कृष्ट जिल्ला सहकारी संघख सर्वोत्कृष्ट संघ घोषित भएको छ । त्यसैगरी नेपाल राष्ट्र बैंकका उपनिर्देशक डा. रमेश चौलागाई नेफ्स्कून विद्धता पुरस्कार पाउने भएका छन् । 



त्यसैगरी नेफ्स्कून पत्रकारिता पुरस्कारतर्फ गोरखापत्र दैनिकका सम्वाददाता लक्ष्मण दर्नाल पुरस्कृत घोषित भएका छन् भने नेफ्स्कून सर्वोत्कृष्ट कर्मचारीतर्फ लेखा अधिकृत मनकेशरी महर्जन र सहायक कर्मचारी चिरन खत्री पुरस्कृत घोषित भएका हुन् । त्यसैगरी फिल्ड कार्यालय अन्तर्गत जनकपुर, बनेपा र सुनसरी उत्कृष्ट फिल्ड कार्यालय घोषित भएका छन । 

त्यसैगरी नेफ्स्कून प्रशंसा पुरस्कारतर्फ उत्कृष्ट नेकोस प्लस सफ्टवयर प्रयोगकर्तामा दोलखाको जिरीस्थित एकीकृत फ्रेण्डसिप साकोस र उत्कृष्ट बचतकर्तामा नवलपुरस्थित विकु साकोस पुरस्कृत हुने भएका छन् ।

उत्कृष्ट शेयर खरिदकर्तामा पोखरास्थित प्राइम साकोस र उत्कृष्ट लघुवित्तमा पाल्पास्थित अन्धकारमुक्ति साकोस पुरस्कृत घोषित भएका हुन् । 

सामाजिक उत्तरदायित्व वहन (प्रशंसा) पुरस्कार तर्फ विन्धबासिनी साकोस काभ्रे र महामारीमा उत्कृष्ट सेवा प्रदान गर्ने संस्थामा काठमाडौं थानकोटस्थित चन्द्रागिरी साकोस पुरस्कृत घोषित भएका हुन् । रुपन्देहीको सबैको साकोस, एकीकरण अभियानमा उत्कृष्ट छनोट भएको छ । 



Leave a comment