मेगा बैंकले सहकारीलाई सहुलियत कर्जा दिने

मेगा बैंकले सहकारीलाई सहुलियत कर्जा दिने :: Sahakari Akhabar

काठमाडौं । मेगा बैंक नेपालले बारा जिल्लाका माछापालक किसानहरूलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने भएको छ ।

मेगा बैंक नेपाल, ए एण्ड डी आक्वा बिजनेस प्राइभेट लिमिटेड र सुनगाभा माछा कृषि सहकारी संस्थाबीच माछा कृषकहरूलाई अत्याधुनिक बैंकिङ सुविधा र सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्झौता भएको हो ।

यससम्बन्धी सम्झौतापत्रमा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहको उपस्थितिमा मेगा बैंककी सीईओ अनुपमा खुञ्जेली, ए एण्ड डी आक्वा बिजनेस प्राइभेट लिमिटेडका अध्यक्ष अमरबहादुर थिङ र सुनगाभा माछा कृषि सहकारी संस्थाका अध्यक्ष शिवहरि आचार्यले सम्झौता गरेका हुन् ।

यो सम्झौताबाट बारा जिल्लाको कोल्हबी नगरपालिकामा रहेका माछापालक कृषकहरू प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ । ए एण्ड डी आक्वा बिजनेस प्राइभेट लिमिटेडले माछापालक कृषकहरूलाई प्राविधिक सहयोग र अन्य सामग्री आपूर्ति गर्नेछ भने मेगा बैंकले सहुलियतपूर्ण कर्जा र अन्य आवश्यक कर्जाहरू सहज रूपमा उपलब्ध गराउनेछ ।

हलोदेखि हाइड्रोसम्म नारा बोकेको मेगा बैंकले माछापालक कृषकहरूलाई सहुलियतपूर्ण कर्जाबाट प्रोत्साहन गरी माछामा नेपाललाई आत्मनिर्भर बनाउने उद्देश्यले यो सम्झौता गरिएको बैंकका अध्यक्ष भोजबहादुर शाहले बताए ।

मेगा बैंकले आगामी ५ वर्षका लागि तयार गरेको रणनीतिमा आयातलाई प्रतिस्थापन गर्ने गरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने योजना बनाएको छ ।

मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले बैंकिङ पहुँचमा नरहेका मध्यमवर्गीय र न्यून आय भएका नेपालीहरू सदैव मेगा बैंकको प्राथमिकतामा रहेको बताए । बैंकले सीईओ खुञ्जेलीले माछापालक किसानहरूलाई वित्तीय सहायता गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताइन् ।

ए एण्ड डी आक्वा बिजनेश प्राइभेट लिमिटेडका अध्यक्ष अमरबहादुर थिङ र सुनगाभा माछा कृषि सहकारी संस्थाका अध्यक्ष शिवहरि आचार्यले मेगा बैंकसँग सहकार्य गर्न पाउँदा आफूहरू हर्षित भएको बताए ।

 



Leave a comment