कोरोना महामारीका कारण कर्जा नउठ्दा सहकारीहरु समस्यामा

कोरोना महामारीका कारण कर्जा नउठ्दा सहकारीहरु समस्यामा :: Sahakari Akhabar

चीना थापा, विराटनगर । कोरोना महामारीका कारण कर्जा  नउठेपछि मोरङका सहकारीहरु समस्यामा परेका छन् । बचत तथा ऋणको कारोबार गरिरहेका सहकारीहरु मारमा परेका हुन ।  दुई महिनाको निषेधाज्ञा पछि केही रुपमा खुलेको बजार फेरी बन्द हुन थालेको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले आशिंक निषेधाज्ञा सुरु गरेको छ । कोरोना संक्रमण दर घटेसँगै निषेधाज्ञा खुकुलो बनाईएको थियो । मोरङमा कोरोनाको संक्रमणदर फेरी बढ्न थालेको छ । साझ ६ बजेदेखि सबै बजार बन्द गरिएको छ । संक्रमणदर बढे पूर्ण निषेधाज्ञा गरिने प्रशासनले जनाएको छ ।

बजार बन्द भएपछि धेरैको आम्दानीको बाटो पनि बन्द भएको छ । यसको असर सहकारी क्षेत्रमा परेको छ । बचत फिर्ता लैजानेको संख्या बढ्ने र कर्जा लगेकाहरुले नतिर्ने भएकाले समस्या आएको सहकारी सञ्चालकहरुले बताएका छन् ।

पछिल्लो समयमा शेयर सदस्यले बचत गर्न पनि छाडेका छन् । आम्दानी नभएकाले बचत नगरिएको सहकारीमा आवद्ध सदस्यहरु बताउछन् । व्यापार व्यवसाय पनि त्यति सारो नचल्ने भएकाले कमाएको खान ठिक्क हुने उनीहरुको भनाई छ ।

‘ज्यान बचाउन पाए बचत त पछि गारौला’ विराटनगरको दुर्गा चोकमा चिया पसल गरेकी रमा तामाङले भनिन् । धान्न धौ धौ भएको अवस्थामा के बचत गर्नु । अन्नपूर्ण बहुउद्देश्यीय सहकारी संस्था विराटनगरका सञ्चालक तथा जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष माधव अधिकारी व्यक्तिले त आम्दानी नभएर तिरेनन्, तर संस्थागत कर्जा पनि नउठेको बताउछन् ।

केही बहुउद्देश्यीय सहकारीहरुले संस्थागत लगानी गर्ने गरेको र त्यो पनि कोरोना महामारीको कारण देखाएर नतिर्दा सहकारीहरु समस्यामा पर्न थालेको बताए । अझै कोरोना बढ्दै गयो भने सहकारीहरु थला पर्ने अवस्था रहेको अधिकारीको भनाई छ । कर्जा नउठ्ने, बचत फिर्ता गईरहने र बचत नहुने भयो भने धेरै सहकारी बन्द हुने अवस्थामा पुग्ने उनको तर्क छ ।

विराटनगर १६ रानीमा रहेको जागरुक बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक उमेश गुरुङ पनि ऋण उठ्न नसकेको बताउछन् । बचत पनि एकदमै कम मात्रामा भईरहेको उनको भनाई छ । सहकारीले ऋण तिर्न सक्नेलाई मात्र ऋण दिदा नी नउठेको उनले बताए ।

अहिले आम्दानी पनि त्यति नभएको अवस्थामा सहकारीले पनि ताकेता गर्न नसकेको उनको तर्क छ । यस्तो बेलामा ताकेता गर्न हुँदैन, तर ताकेता नगर्दा सहकारी समस्यामा पर्ने उनले बताए । जिल्लाका धेरै सहकारीमा कर्जाको समस्या रहेको छ । कतिपय सहकारीले कर्जा संकलन गरेको भएपनि धेरै सहकारीले आफुले प्रवाह गरेको कर्जा संकलन गर्न सकेका छैनन् ।

बहुउद्देश्यीय सहकारी, कृषि सहकारीहरुले बचत तथा ऋणको कारोबार गर्न पाउँदैनन् । तर अझै बचत तथा ऋणको कारोबार गरिरहेका छन् । सबै किसिमका सहकारी बचत तथा ऋणको नै कारोबार गर्ने भएकाले पनि समस्या देखिएको छ ।

एउटाबाट ऋण झिक्ने र अर्कोमा तिर्ने सदस्यकोहरु धेरै छन् । जसले गर्दा सदस्यलाई ऋण माथि ऋण थपिने त छदैछ, सहकारीहरुलाई पनि यस्तो प्रवृतिले समस्या हुने देखिन्छ । सहकारीहरुले एक सहकारी एक सदस्यको नियमलाई पालना नगर्दा पनि यस्तो समस्या आएको देखिन्छ । बढी सदस्य बनाउने होडबाजीका कारण पनि सहकारीहरु समस्यामा परेको धेरैको बुझाई छ ।



Leave a comment