भक्तपुर । बालकुमारी बचत तथा ऋण सहकारी संस्थाले ८ प्रतिशत ब्याजदरमा नै सदस्यहरुलाई ऋण लगानी गर्ने भएको छ ।
कोभिड १९ का कारण सदस्यहरुको ब्यापार व्यवसायमा परेको असरलाई न्युनिकरण गर्न संस्थाले ८ प्रतिशत ब्याजदरमै ‘सदस्य समृद्धि ऋण’ लगानी गर्ने भएको हो । संस्थाको एक सदस्यलाई १० लाख रुपैयाँसम्म ऋण लगानी गर्ने निर्णय गरेको संस्थाका व्यवस्थापक सुजेन्द्र श्रेष्ठ जानकारी दिए ।
त्यसैगरी कतिपय सदस्यहरुको व्यापार व्यवसाय ठूलो भएको र कोभिडको महामारीबाट तहसनहस भएकाले व्यापार व्यवसायलाई पुनरोत्थान गर्न एकै परिवारका दुई सदस्यलाई २० लाख सम्म ऋण लगानी गर्ने संस्थाको योजना छ । ब्याजदर एक वर्षसम्म फेरबदल नहुने र सरल किस्तामा तिर्न सक्ने यो ऋणको अवधि १० वर्ष रहेको छ ।
संस्थामा ५१ करोडको हाराहारीमा तरलता रहेको र बैंक तथा वित्तीय संस्थाले दिने संस्थागत ब्याज न्यून रहेको अवस्थामा आफ्ना सदस्यहरुलाई आर्थिक रुपमा टेवा पुगोस् भन्ने उद्देश्यका साथ संस्थाले यस्तो स्किम ल्याएको व्यवस्थापक श्रेष्ठले जनाए ।
बन्दाबन्दीका कारण सदस्यहरुको व्यापार व्यवसाय ठप्प भएको भन्दै संस्थाले ३ महिनाको ब्याजमा ७ प्रतिशत छुट दिएको छ । जसबापत सदस्यहरुले कुल १३ लाख ६९ हजार छुट प्राप्त गरेका छन् ।
संस्थाले गत असार मसान्तसम्ममा १ अर्ब ७० करोडको हाराहारीमा कुल वासलात पु¥याएको छ । संस्थामा ५ हजार एकसय सदस्य, १ अर्ब ४४ करोड बचत संकलन र १ अर्ब १२ करोड ऋण लगानी रहेको छ ।
संस्थाले बढिमा १४ प्रतिशत ब्याजदरसम्म ऋण लगानी गर्दै आएको र समयमा किस्ता तिर्ने सदस्यलाई ब्याजमा एक प्रतिशतका दरले छुट दिँदै आएको छ ।
Leave a comment