काठमाडौं । चन्द्रागिरी नगरपालिका वडा नं ३ का दुईवटा सहकारी संस्था एकिकरण भएका छन् । चन्द्रागिरी नगरपालिका वडा नं ३ मा रहेको परिश्रमी वचत तथा ऋण सहकारी संस्था र श्री थानकोट महालक्ष्मी वचत तथा ऋण सहकारी संस्थाबीच समीकरणको प्रक्रिया सम्पन्न भएको हो ।
विगत १ वर्षदेखि एकिकरण प्रकृयाले अन्तिम रुप लिएको छ । दुवै संस्थाको कार्यक्षेत्र, ठेगाना र प्रकृति समेत एकै भएका कारण समिकरणमा सजिलो भएको परिश्रमी सहकारीका अध्यक्ष कृष्ण प्रसाद खड्गीले बताए । त्यस्तै महालक्ष्मी सहकारीका अध्यक्ष निर्मला श्रेष्ठ रहेकी छिन् । हाल संस्थाको कार्यक्षेत्र चन्द्रागिरी नगरपालिका भित्र मात्र रहेको छ ।
झण्डै ४५ करोडको वासलात भएको परिश्रमी वचत तथा ऋण सहकारी संस्थामा २ करोड सम्पत्ति रहेको थानकोट महालक्ष्मी सहकारी समिकरण भएपश्चात अनुमानित पचास करोडको व्यालेन्ससिट पुग्ने परिश्रमी सहकारी संस्थाका व्यवस्थापक मोहन डाँगीले जानकारी दिए । समिकरणपश्चात् संस्थाका सदस्य संख्या १८ सय पुग्ने जनाइएको छ । संस्थाको शेयर पुँजी ३ करोड पचास लाखको हाराहारी पुग्ने उनले जनाए ।
स्थानीय तहमा सहकारीका नीतिनियमहरु बन्न ढिलाइ भइरहेकोले कानुनी बाधाहरु धेरै नै भोग्नु पर्दा समिकरणमा धेरै ढिलाइ भएको उनले उल्लेख गरे । सबै प्रकृयाहरु सम्पन्न भएपश्चात् २०७८ साल श्रावणबाट सबै कारोबार परिश्रमी सहकारी संस्थाकै कार्यालयबाट हुने व्यवस्थापक डाँगीको भनाइ छ ।
Leave a comment