भरतपुर महानगरपालिको पनि आँखामा परेन सहकारी

भरतपुर महानगरपालिको पनि आँखामा परेन सहकारी :: Sahakari Akhabar

काठमाण्डौँ । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९) बाट देश आक्रान्त छ । अहिले कोरोनाको खोपलाई विश्वव्यापीरुपमा प्राथमिकता दिइएको छ ।

फ्रन्टलाइनरहरुलाई खोप उपलब्ध गराउने सरकारले घोषणा गरेको छ । बैंक तथा वित्तीय संघसंस्थाहरुले आफ्ना कर्मचारीलाई खोप लगाउन सरकारसँग आह्वान गरेका छन् ।

निजी क्षेत्रका प्रतिनिधि संस्थाहरुले खोपका लागि सरकारसँग लबिङ गर्दै आएका छन् । तर खोप लगाउने विषयमा सहकारीका निकाय मौन छन् ।

केही जिल्ला संघले खोपका लागि लबिङ गरेपनि शीर्षस्थ निकाय तथा स्थानीय तहमा सहकारीहरुले प्राथमिकता पाउन सकेका छैनन् ।

खोपका लागि लबिङ गर्ने सहकारीका माउ निकायको कमजोर लविङका कारण सहकारीका कर्मचारीहरु खोपबाट बञ्चित भइरहेका छन् ।

यसैगरी भरतपुर महानगरपालिकाले खोप तालिका सार्वजनिक गरिसकेको छ । तालिकामा सहकारीका कर्मचारीकालागि सम्बोधन गरिएको छैन ।

बैंक वित्तिय संस्था, शिक्षक, पत्रकार तथा ५५ वर्ष भन्दा माथिका नागरिक, निजी, सामुदायीक र सरकारी कर्मचारीले परिचय पत्र देखायर खोप लगाउन सकिने उल्लेख छ ।

देशभरका सहकारीमा ७३ लाख मानिस आबद्ध छन् । करिब १ लाखले सहकारीमा प्रत्यक्षरुपमा काम गर्छन् । सहकारीका नेताहरुले आफ्ना कर्मचारीलगायत फ्रन्टलाइनमा बसेर काम गर्नेहरुका लागि खोपको पहल गर्न सकेका छैनन् । खोपको पहल नगरेको सहकारी क्षेत्रमै असन्तुष्टी सिर्जना भएको छ ।

यसै विषयमा कृष्णकुमार स्याङ्गतानले सामाजीक सञ्नालमै रोष्ट पोखेका छन् “हाम्रो तीन खम्बे बर्गमा पर्ने सहकारीमा काम गर्ने कर्मचारी हरूको पालो कहिले आउने हो ? वित्तीय बर्गमा पर्ने र टिचर हरूले लगायत सम्पूर्ण बर्गले खोप पाउँने, अनि हामी तीन खम्बे बर्गमा पर्नेले चाहिँ नपाइने नै हो ।।। ” दैनिकजसो सहककारीकर्मी तथा कर्मचारीको रुष्टता बढ्दै गएको छ ।




Leave a comment