विराटनगर । सञ्चारकर्मी सञ्चार सहकारी संस्थाले ६ जना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । सहकारी संस्थाको दशौं स्थापना दिवस पारेर विराटनगरस्थित बिजमाण्डु अनलाइनका सम्वाददाता अनन्तराज न्यौपाने, कारोबार दैनिकका सम्वाददाता मीनकुमार श्रेष्ठ रहेका छन् ।
त्यसैगरी राससका विराटनगर प्रमुख मोहम्मद सदरुल, न्युज २४ की सम्वाददाता तारा आचार्य, निगरानी अनलाइनकी राजकुमारी तामाङ र सिम्रिक एफएम पथरीकी एलिना दियालीलाई सम्मान गर्न लागेको हो ।
न्यौपाने र श्रेष्ठ २०७५ सालदेखि प्रदान गर्न सुरु गरिएको ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कारबाट सम्मानित हुने भएका हुन्।समाजसेवी दीनवन्धु गोयलले आफ्ना दाजुको नाममा राखेको पुरस्कारको राशि ५० हजारको छ ।
यो पुरस्कारको लागि समाजसेवी गोयलले पाँच लाखको अक्षय कोष खडा गरी सो व्याजबाट प्रत्येक वर्ष आर्थिक क्षेत्रमा कलम चलाउने देशभरीका उत्कृष्ट पत्रकारलाई पुरस्कृत गर्न थालिएको हो ।
कोरोना महामारीका कारण नवौं स्थापना दिवस मनाउन नसकिएकोले २०७७ सालको पुरस्कार पनि यसै वर्ष प्रदान गरिने भएको छ । २०७७ सालको ओमप्रकाश आर्थिक पत्रकारिता पुरस्कारबाट न्यौपानेलाई र २०७८ को श्रेष्ठलाई प्रदान गर्न लागिएको हो ।
यसभन्दा अगाडि यस पुरस्कारबाट इलामका पत्रकार भीम चापागाईं र काठमाडौंका पत्रकार गजेन्द्र बुढाथोकीलाई प्रदान गरिसकिएको छ ।
यस्तै २०७७ सालको मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कार पत्रकार सदरुललाई र २०७८ सालको पत्रकार आचार्यलाई प्रदान गर्ने भएको छ ।
यसभन्दा अगाडि यस पुरस्कारबाट पत्रकार कुमार लुइटेल, मोहन मानन्धर, उद्धव घिमिरे, अभय राई र देवनारायण साह पुरस्कृत भैसकेका छन् ।
नेपाल पत्रकार महासंघ मोरङका पूर्व सभापति दीपक दाहालसहित दाहाल परिवारद्वारा स्थापित मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कार, मोरङ जिल्लामा कार्यक्षेत्र भएका सञ्चार श्रमजीवी भई उत्कृष्ट कार्य गर्ने एक जनालाई प्रत्येक वर्ष नगदसहित सम्मान गर्ने गरिएको छ । यस पुरस्कारको राशि २१ हजार रहेको छ ।
यस्तै २०७७ सालका लागि तामाङ र २०७८ सालका लागि दियाली मीनादेवी श्रेष्ठ महिला पत्रकार प्रोत्साहन पुरस्कारबाट पुरस्कृत हुने भएका छन् । यस पुरस्कारको राशि नगद १० हजार छ । यस अघि यस पुरस्कारबाट सुशीला पाठक, इन्दिरा भट्टराई , बिनु तिम्सिना, ज्योती चौहान र उमा पोखरेल पुरस्कृत भैसकेका छन् ।
मीनादेवी श्रेष्ठ महिला पत्रकारिता पुरस्कार पूर्वाञ्चलमा बसी कार्य गरिरहेका महिला पत्रकारलाई मात्र प्रदान गरिन्छ । सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरका अध्यक्ष मोहन भण्डारीको अध्यक्षतामा २०७८ असार २१ गते सोमबार बसेको बैठकले तीनै पुरस्कारको घोषणा गरेको हो ।
तीनै वटा पुरस्कार संस्थाको दशौं स्थापना दिवसको अवसरमा २०७८ असार २७ गते प्रदान गरिने संस्थाका सचिव महाप्रसाद खतिवडाले जानकारी दिए ।
Leave a comment