चीना थापा, विराटनगर । प्रदेश एक सहकारी संघले प्रदेश भरीका सहकारी संघ/संस्थामा कार्यरत कर्मचारीहरुलाई कोरोना विरुद्धको खोप तत्काल लगाउन माग गरेको छ ।
प्रदेश सहकारी संघले विहिबार सामाजिक विकास मन्त्री उषाकला राईलाई मन्त्रालयमा भेटेर माग पत्र बुझाएकाे छ। कोरोना महामारीको समयमा सहकारी संघ संस्थाहरुले कर्मचारी मार्फत आफ्ना सदस्यलाई सेवा दिनुपर्ने अवस्था भएकाले उनीहरुलाई खोपको आवश्यकता पर्ने संघले जनाएको छ ।
संघले मन्त्रीलाई बुझाएको पत्रमा प्रदेश १ मा १० लाख मानिसहरु सहकारीका सदस्य तथा २२ हजार कर्मचारी रहेको जनाएको छ् । सहकारी क्षेत्रले सरकारलाई पनि आर्थिक तथा अन्य सहयोग उपलब्ध गराउँदै आएको विज्ञप्तीमा उल्लेख गरिएको छ । महामारीमा जोखिम मोलेर सदस्यलाई सेवा प्रवाह गरिरहेका भएपनि सरकारले सहकारी क्षेत्रलाई उपेक्षा गरेको उल्लेख छ ।
सहकारी क्षेत्र भन्दा कम जनसम्पर्क रहने अरु क्षेत्रलाई सरकारले अग्रपङंतीमा खटिने भनेर खोप उपलब्ध गराईरहेको अवस्थामा बढी जनसम्पर्क हुने सहकारी क्षेत्रका कर्मचारीलाई खोपबाट बञ्चित हुनु परेको अवस्था रहेको संघले जनाएको छ ।
विज्ञप्तीमा सहकारीका कर्मचारीलाई अग्रपंङतीका रुपमा राखी प्राथमिकतामा राखेर खोप उपलब्ध गराईदिन मन्त्रालयलाई आग्रह गरेको छ ।
सामाजिक विकास मन्त्री राईले सहकारीलाई उच्च प्राथमिक्तामा राख्दै कोरोना विरुद्धको खोप तत्काल उपलब्ध गराउन आफुले सक्दो सहयोग गर्ने बताईन ।
Leave a comment