चन्द्रागिरि साकोसका सदस्यलाई ब्याजमा १५ प्रतिशत र हर्जनामा पुरै छुट

चन्द्रागिरि साकोसका सदस्यलाई ब्याजमा १५ प्रतिशत र हर्जनामा पुरै छुट :: Sahakari Akhabar

काठमाण्डौ । थानकोटमा मुख्य कार्यालय रहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई ५ देखि १५ प्रतिशतसम्म छुट दिने भएको हो ।

कोरोना संक्रमणको दोश्रो लहरका कारण सदस्यहरुको व्यापारव्यवसाय ठप्प भएकाले ऋणी सदस्यलाई व्याजमा विशेष छुटको व्यवस्था गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्ण कुमार श्रेष्ठले जनाए ।

संस्थाले सूचना जारी गरी ऋणी सदस्यहरुलाई ऋणको ब्याजमा ५ देखि १५ प्रतिशतसम्म छुट लिन सक्ने जनाएको छ । असार १ देखि १५ प्रतिशत छुट कायम गरी क्रमशः छुटको दर घट्दै २५ गते ५ प्रतिशत कायम हुने संस्थाले जनाएको छ ।

यस्तै सदस्यको उद्योग व्यवसाय तथा परियोजनामा पर्न गएको असरलाई मध्यनजर गर्दै संस्थाले २०७८ असार २५ गते भित्र ऋणी सदस्यहरुले ऋण भुक्तानी गरेमा निषेधाज्ञा अवधिभरको हर्जनामा पुरै छुट र भुक्तानी हुने ब्याज रकममा पनि ५ देखि १५ प्रतिशत सम्म छुट संस्थाले दिने भएको हो ।

संस्थाको कार्यालय आइतबार र बिहीबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म खुल्ने र अन्य दिनहरुमा बिहान ८ बजेदेखि ११ बजेसम्म सम्पर्क व्यक्तिमार्फत् सेवा लिन संस्थाले जनाएको छ ।



Leave a comment