सहकारीबाट पनि रेमिटेन्स सेवा लिन सकिने

सहकारीबाट पनि रेमिटेन्स सेवा लिन सकिने :: Sahakari Akhabar

काठमाडौं । विदेशमा रहेका नेपालीले अब आफू सदस्य रहेको सहकारीको खातामा सिधै रकम जम्मा गर्न पाउने भएका छन् ।

हब कोअपरेटिभ सर्भिस र हब सोलुसन प्रालिले विदेशबाट पठाएको रकम सम्बन्धित व्यक्तिको सहकारीमा रहेको खातामा जम्मा गर्ने प्रविधिको विकास गरेका हुन् ।

अहिलेसम्म विदेशबाट रेमिटेन्स कम्पनीमार्फत बैंकको खातामा रकम जम्मा हुँदै आएकोमा पहिलोपटक सहकारीको खातामा जम्मा हुने भएको छ ।

विदेशबाट सिधै सहकारीको खातामा रकम पठाउन रेमिटेन्स सेवा प्रदायक कम्पनीसँगको साझेदारीमा हब सोलुसन तयार गरेको हब कोअपरेटिभ सर्भिसका अध्यक्ष दक्ष पौडेलले बताए ।

‘विदेशबाट पठाएको रकम सहकारीको खातामा जम्मा गर्ने प्रविधिको विकास गरेका छौं,’ पौडेलले भने । हब कोअपरेटिभले सोमबार जिएमई रेमिटसँग कारोबारका लागि सम्झौता गरेको छ ।

हब कोअपरेटिभको तर्फबाट भानुभक्त ढकाल र जिएमई रेमिटका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

जिएमईले विदेशबाट ल्याएको रेमिट हब सोलुसनको प्लेटफर्ममार्फत सम्बन्धित व्यक्तिको सहकारीको खातामा रियल टाइम जम्मा हुनेछ । त्यसका लागि सहकारी हबको नेटवर्कमा जोडिनुपर्छ ।

हब कोपरेटिभले सहकारीहरूबीच प्रविधिको माध्यमबाट भुक्तानी तथा फछ्र्यौट, मोबाइल बैंकिङ, अनलाइन भुक्तानी सेवा, युटिलिटी पेमेन्ट, क्युआर कोडमार्फत भुक्तानी, आन्तरिक तथा बाह्य रेमिटेन्स सहितका सेवा दिन सुरु गरेको छ ।

सहकारीको लेखा प्रणाली, भुक्तानी सेवा लगायतका विद्युतीय कारोबार गर्न नयाँ प्लेट फर्म तयार गरेको हो । प्रविधि सेवा प्रदायक निकायसँगको समन्वयमा सहकारीको वित्तीय कारोबारलाई प्रविधिमा आधारित बनाउन लागेको सहकारीले जनाएको छ ।



Leave a comment