स्याङ्जाका सहकारीलाई बैंकको नीति निर्माण तालिम     

स्याङ्जाका सहकारीलाई बैंकको नीति निर्माण तालिम      :: Sahakari Akhabar

बागलुङ । राष्ट्रिय सहकारी बैंक वालिङ र पुतलीबजार शाखाको आयोजनामा सहकारीमा वार्षिक योजना तथा बजेट निर्माण तर्जुमा सम्बन्धी  एक दिने तालिम मंगलवार सम्पन्न भएको छ ।

वालिङ र पुतलीबजार शाखा अन्तरगत स्याङ्जा जिल्लामा सञ्चालित सहकारी संघ संस्थाका सञ्चालक तथा कर्मचारीहरुलाई लक्षित गरी भर्चुअल माध्यमबाट तालिम सञ्चालन गरिएको थियो । तालिममा स्याङ्जा जिल्लामा क्रियाशिल सहकारी संघ संस्थाका १ सय १० जना सहकारीकर्मीहरुको सहभागिता रहेको थियो ।

सहकारी संघ संस्थालाई व्यवस्थित रुपमा सञ्चालनका लागि नीति, योजना तथा बजेट तर्जुमा आवश्यक रहने भएकाले तालिमको आयोजना गरिएको बैंकको वालिङ शाखाका प्रमुख टिकाराम अधिकारीले जानकारी दिए ।

बैंकका अध्यक्ष के.बी.उप्रेतीले कोरोना संक्रमणको वर्तमान अवस्थामा सबै भन्दा पहिला आफु र आफ्ना सदस्यहरुलाई सुरक्षित रहने गरी अगाडि बढ्न सुझाव दिए ।

उनले लकडाउनका कारण सहकारी संघ संस्थाको सेवा प्रभावित भएको समयमा घरमै बसेर योजना निर्माणमा सहयोग पुयाउन सहकारी बैंकले योजना निर्माण तालिम सञ्चालन गरेको बताए ।

सहकारी व्यवसायलाई मर्यादित र व्यवस्थित गराउनका लागि वार्षिक रुपमा योजना बनाएर काम गर्नु पर्नेमा जोड दिदै उनले योजना निर्माण लगायत सहकारीको समग्र अवस्थामा सुधार ल्याउनका लागि सहकारी बैंकसंग सहकार्य गर्न आव्हान गरे ।

बैंकको तालिम विभागका अधिकृत नारायण बेलवासेले सहकारीमा योजना तथा बजेट निर्माण प्रक्रिया, संस्थाको उद्देश्य तथा लक्ष्य निर्धारण, प्रभावकारी अनुगमन तथा मूल्यांकनका लागि आवश्यक विषयहरु लगायतका विषयमा सहजीकरण गरेका थिए ।



Leave a comment