काठमाडौं । पोखरा रोयल साकोस र चन्द्रगिरि साकोसले आज संयुक्तरुपमा ‘वेल नेस’ कार्यक्रमको आयोजना गरेको छ । दुवै संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार तथा कर्मचारी व्यवस्थापनलाई सहभागी गराई उक्त कार्यक्रम सञ्चालन गरिएको थियो ।
कोरोनाको बढ्दो संक्रमण, त्यसले पुयाएको आर्थिक, भौतिक तथा मानवीय क्षतिको कारण सञ्चालक तथा कर्मचारीहरुको मनोवलमा ह्रास आईरहेको सन्दर्भमा कटिवद्ध भई सदस्य सेवा प्रवाहको लागि शारिरीक, मानसिक र संवेगात्मक हिसाबले जागरुक बनाउनको लागि उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा मास्टर सचेतना कोच तथा भिजनरी नेपालका संस्थापक मनोसामाजिक परामर्श दाता ईन्द्र गुरुङले सहजीकरण गरेका थिए । सहभागीहरुलाई विभिन्न शारिरीक अभ्यास सहित प्रयोगात्मक रुपमा गुरुङले प्रशिक्षित गरेका थिए ।
कोभिड १९ को प्रकोप सामना गर्नको लागि शारिरीक, संवेगात्मक, वातावरणीय, वित्तीय, पेशागत, सामाजिक, बौद्धिक र अध्यात्मिक पक्षहरु व्यवस्थापन गर्नुपर्ने कुरामा जोड दिँदै घर भित्रै बस्नु परिरहेको हालको समयमा मानिसको दैनिकी कसरी स्वस्थ्य र उत्पादन मुलक बनाउन सकिन्छ भन्ने विषयमा समेत चर्चा गरेका थिए ।
चन्द्रागिरि साकोसका अध्यक्ष योगेन्द्रकुमार कुँवरको अध्यक्षतामा भएको कार्यक्रम पोखरा रोयल साकोसका मुख्य प्रबन्धक मिलन ढकालले सञ्चालन गरेका थिए ।
महामारीको यस कठिन अबस्थामा संस्थाले के कस्तो गतिविधिहरु सञ्चालन गरीरहेको छ भन्ने विषयमा दुवै संस्थाका प्रमुख कार्यकारी अधिकृत भिम गुरुङ र कृष्णकुमार श्रेष्ठले जानकारी गराएका थिए ।
विषम परिस्थितिका बावजुत पनि दुवै सहकारी सदस्य सेवामा तल्लिन रहेको र यतिखेर संस्थाले सदस्यहरुको जीवन बचाउनको लागि ध्यान दिनु पर्ने कुरामा पोखरा रोयल साकोसका अध्यक्ष मेजर तुलसी प्रसाद गुरुङले जोड दिए ।
कार्यक्रमले संस्थाका कर्मचारी र सञ्चालकहरु शारिरीक र मानसिक रुपले जागरुक बनाउँदै उत्पादकत्व अभिबृद्धि गर्न सहयोग पुग्ने र सदस्यहरुमा समेत यसको सकारात्मक प्रभाव पर्ने विषयमा चन्द्रागिरि साकोसका अध्यक्ष योगेन्द्रकुमार कुँवरले बताए ।
संस्थाविच भगिनत्वको भावनाद्वारा नीति, विधि र प्रविधिहरुमा एक खाले अभ्यासहरु गर्नुको साथै सहकारी अभियानमा नविनतम खोज र अभ्यासहरु पस्कने प्रयास स्वरुप २०७७ साल भाद्र २९ गते दुई संस्थाविच भगिनी सम्बन्ध स्थापना भएको थियो ।
चन्द्रागिरि साकोसमा १३ हजार ६ सय जना व्यक्तिहरु सदस्य र २५२ करोडको कुल सम्पत्ति रहेको छ भने पोखरा रोयल साकोसमा ७ हजार ३ सय सदस्य र २०० करोडको कुल सम्पत्ति रहेको छ ।
यस महामारी संगै संस्था साल तमामीको समयमा समेत आईपुगेको सन्दर्भमा सहकारी संस्थाहरुलाई कसरी महामारीबाट सुरक्षित रुपमा अवतरण गरी व्यवस्थापन गर्ने भन्ने विषयमा साझा धारण बनाई उपल्लो संघ तथा नियमनकारी निकायहरुमा पेश गर्ने समेत योजना रहेको दुवै संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुले बताए ।
Leave a comment