सह–अध्यक्ष पौडेलद्धारा अक्सिजन सिलिण्डर सहयोग

सह–अध्यक्ष पौडेलद्धारा अक्सिजन सिलिण्डर सहयोग :: Sahakari Akhabar

बाग्लुङ । राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष दक्ष पौडेलले अक्सिजन सिलिण्डर सहयोग गरेका छन । कोरोना भाईरस (कोभिड–१९) को महामारी फैलिएर अक्सिजन अभावमा विरामीको उपचार गर्न कठिन भएर ज्यान गुमाइरहेका बेला आफ्ना बाबु स्व. भिमनाथ शर्मा पौडेलको स्मृतिमा व्यक्तिगत रुपमा १० थान अक्सिजन सिलिन्डर सहयोग गरेका हुन ।

बागलुङको अमलाचौरका पौडेलले आफ्ना बाबुको सम्झनामा स्थापित भिमनाथ शर्मा पौडेल स्मृति प्रतिष्ठानको तर्फबाट निःशुल्क रुपमा जिल्ला सदरमुकाममा रहेको धौलागिरी अस्पताल तथा ग्रामिण क्षेत्रका स्वास्थ्य संस्थामा सिलिन्डर प्रदान गरेका हुन ।

बागलुङमा पनि समुदायस्तरमा तिब्र रुपमा कोरोना सक्रंमण फैलिएको र अक्सिजन अभावले विरामी उपचार गर्न बाहिर लैजानुपर्ने अवस्था भएकोले जिल्लाकै अस्पतालमा उपचार गर्न पाउन भनेर अक्सिजन सहयोग गरेको सह–अध्यक्ष पौडेलले बताए ।

‘नागरिकहरु अक्सिजन नपाएर अकालमा ज्यान गुमाइरहेका छन्’ पौडेलले भने, ‘सानो सहयोगले कसैको जीवन बच्न सहयोग पुगोस् भन्ने उद्देश्य हो ।’ गृह जिल्लाका नागरिकका लागि थोरै सहयोग भएपनि राहत होस भनी अक्सिजन सिलिण्डर प्रदान गरिएको हो ।

अक्सिजन धौलागिरी अस्पतालमा ५ थान, जिल्लाको जैमिनी नगरपालिकाको कुश्मिशेरा प्राथमिक स्वास्थ्य केन्द्रमा ३ थान, र बागलुङ नगरपालिका–१२ अमलाचौर स्वास्थ्य चौकीद्धारा संचालन भएको एम्बुलेन्समा २ थान प्रदान गरिएको छ । 
 



Leave a comment