मोरङका अधिकास सहकारी बन्द, केहीको सेवा सम्पर्क ब्यक्ती मार्फत

मोरङका अधिकास सहकारी बन्द, केहीको सेवा सम्पर्क ब्यक्ती मार्फत :: Sahakari Akhabar

चीना थापा, विराटनगर । मोरङका अधिकांस सहकारीहरु पूर्ण रुपमा बन्द गरिएको छ । कोरोना महामारीका कारण संक्रमणको जोखिम बढेको भन्दै सहकारी संस्थाहरु बन्द गरिएको हो । सहकारी संस्थाहरु निषेधाज्ञा अवधिभर बन्द गर्न सम्वन्धित निकायहरुले आग्रह गरेका छन् ।

मोरङको उर्लाबारी नगरपालिकाले विज्ञप्ती नै जारी गरेर सहकारी संस्थालाई कार्यालय बन्द गर्न र कारोबार नगर्न आग्रह गरेको छ । त्यस्तै नेपाल राष्ट बैंक एक नं. प्रदेश कार्यालयले पनि बैंक तथा वित्तिय संस्थाहरुलाई अत्यावश्यक बाहेक अन्य कारोबार नगर्न आग्रह गरेको छ ।

जिल्लाका अन्य नगरपालिका तथा गाउँपालिकाले पनि यो विषम् परिस्थितिमा कुनै पनि सहकारी संस्थालाई कारोबार नगर्न आग्रह गरेका छन । सहकारी खोलेर कारोबार गर्दा तथा सेवा दिदा त्यहाँबाट कोरोना सर्ने सम्भावना धेरै हुने भन्दै नगरपालिका तथा गाउँपालिकाहरुले बन्द गर्न आग्रह गरिएको बताएका छन् ।

सम्पर्क व्यक्ति तोकेर सेवा

जिल्लाका केही सहकारीले भने सम्पर्क व्यक्ति तोकेर सेवा दिईरहेका छन् । सबै कारोबार बन्द गरेर सम्पर्क व्यक्ति मार्फत अत्यावश्यक सेवा मात्र दिईरहेका छन् । मोरङको उर्लाबारीमा रहेको नारीसंकल्प बचत तथा ऋण सहकारीले सम्पर्क व्यक्ति मार्फत अत्यावश्यक सेवा दिईरहेको सहकारीकी अध्यक्ष सीता कार्कीले बताईन ।

शेयर सदस्यलाई आवश्यक परेमा बचत रकम फिर्ता दिने र ऋण अत्यावश्यक परेमा दिईने गरेको उनको भनाई छ । सहकारीले चार जना सम्पर्क व्यक्ति तोकेको छ । अध्यक्ष कार्कीका अनुसार अध्यक्ष सहित व्यवस्थापक, सह व्यवस्थापक र लेखापाललाई, सम्पर्क ब्यक्ती तोकेको हो ।

त्यस्तै उर्लाबारीकै हाम्रो बचत तथा ऋण सहकारीले पनि सम्पर्क व्यक्ति तोकेर नै सेवा दिईरहेको छ । सहकारीले शेयर सदस्यलाई आकस्मिक सेवाका लागि मात्र सम्पर्क गर्न आग्रह गरेको छ । यो समयमा अत्यावश्यक सेवा पनि सिमित व्यक्तिबाट मात्र दिनुपर्ने अवस्था रहेकाले अध्यक्ष सहित व्यवस्थापक र लेखापाललाई सम्पर्क व्यक्ति तोकेर सेवा दिईरहेको अध्यक्ष ढकबहादुर थापाले बताए ।

जिल्लाको पथरी शनिश्चरेमा रहेको लर्ड बुद्ध बचत तथा ऋण सहकारीले पनि सम्पर्क व्यक्ति तोकेर सेवा दिईरहेको छ । उक्त सहकारीले पनि अत्यावश्यक सेवा मात्र दिईरहेको सहकारीले जनाएको छ ।

त्यसैगरी बेलबारीमा रहेको दिपज्योति नारि विकास बचत तथा ऋण सहकारीले सेवाका लागि सम्पर्क व्यक्ति तोकेको छ । अत्यावश्यक सेवाका लागि तोकिएका सम्पर्क व्यक्तिलाई फोन गरेर सेवा लिन सहकारीले शेयर सदस्यलाई आग्रह गरेको छ ।

बेलबारी नगरपालिकाले पनि नगरपालिका भित्र सञ्चालित सहकारीलाई कार्यालय बन्द गर्न आग्रह गरेदेखि सहकारी कार्यालय बन्द छन् । त्यसैगरी विराटनगरका सहकारीहरुले पनि सम्पर्क व्यक्ति तोकि अत्यावश्यकका सेवा मात्र दिईरहेका छन् ।

अत्यावश्यक बाहेक सबै सेवा बन्द गरिएको जनाईएको छ । विराटनगर कोरोनाको हटस्पट भएका कारणले पनि यस क्षेत्रका अधिंकास सहकारीले बैशाख अन्तिम देखिनै कारोबार बन्द गरिसकेका थिए ।

पछिल्लो समयमा विराटनगरमा दिन दिनै बढिरहेको कोरोना संक्रमणले गर्दा राष्ट्र बैंक एक नं. प्रदेशले एक हप्ताह सबै वित्तिय संस्थाहरुलाई सबै सेवा बन्द गर्न आग्रह गरेको छ । त्यसकारण विराटनगरका सहकारीहरुले अप्ठयारो परेको अवस्थामा मात्र सदस्यलाई सेवा दिईएको सहकारीका सञ्चालकहरुले बताएका छन् ।



Leave a comment