पञ्चशील सहकारीले उपचारमा २५ हजार सहयोग गर्ने

पञ्चशील सहकारीले उपचारमा २५ हजार सहयोग गर्ने :: Sahakari Akhabar

ललितपुर । पञ्चशील बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यलाई कारोना उपचार खर्चकालागि सहयोग गर्ने भएको छ ।

संस्थाको बुधबार बसेको सञ्चालक समितिको बैठकले सदस्यलाई कोरोना उपचार गर्नुपर्ने अवस्थामा २५ हजार सहयोग गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष राजु खतिवडाले जानकारी दिए ।

उपचार गर्दा लागेको खर्चको बिल भर्पाइ बुझाएर सहयोग लिन सकिने संस्थाले जनाएको छ । साथै कोरोना संक्रमण भई होम आइसोलेसनमा बसेका कमजोर आर्थिक अवस्था भएका सदस्यहरुकोलागि औषधी उपचार, खाद्यान्न तथा आवश्यक स्वास्थ्य सहयोग पनि गर्ने निर्णय भएको अध्यक्ष खतिवडाले बताए । 

संस्थाले आफ्नै भवनबाट कारोबार शुरु गरेको छ । वैशाख २६ गते आइतबारदेखि संस्थाको सम्पूर्ण कारोबार नयाँ भवनबाट संचालन भएको हो । संस्थाको आफ्नै भवनमा रहेको एटीएम बुथबाट पनि सदस्यले सेवा लिन सकिने जनाइएको छ ।

संस्थाले रेमिट्यान्स, पञ्चशील स्मार्ट बैंकिङ्ग, एसएमएस बैकिङ्ग तथा बैंक ट्रान्सफर लगायतका सेवा दिने अध्यक्ष खतिवडाले बताए । पञ्चशीलको क्यूआर कोडमार्फत थप सेवाको समेत आरम्भ गरेको उनले जनाए ।

३ हजार सदस्य रहेको संस्थाको १४ करोड ५५ लाख ६९ हजार ७ सय रुपैयाँ चुक्ता पूँजी  रहेको र जगेडा लगायतका अन्य कोषहरुमा १६ करोड ८८ लाख ९४ हजार ७ सय ६३ रुपैयाँ रहेको छ । संस्थाको कुल कारोबार २ अर्ब ५१ करोड ५४ लाख ३७ हजार ९ सय ८८ रुपैयाँ रहेको छ ।



Leave a comment