झ्याल ढोका खुल्ला राखि सेवा दिन बागमती प्रदेश सहकारी रजिष्ट्रारको निर्देशन

झ्याल ढोका खुल्ला राखि सेवा दिन बागमती प्रदेश सहकारी रजिष्ट्रारको निर्देशन :: Sahakari Akhabar

काठमाडौं । वागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले क्षेत्राधिकार भित्रका सहकारीलाई स्वास्थ्य सम्वन्धी मापदण्डको पूर्ण पालना गर्दै सेवा प्रवाह गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले चैत्र १६ गते सूचना प्रकाशित गरी सीमित संख्या वा आलोपालो कर्मचारीको व्यवस्था गरेर सेवा प्रदान गर्न निर्देशन दिएको हो । यस महामारीको बेला तरलताको अभाव हुन सक्ने भन्दै सदस्यहरुको निक्षेप फिर्ता तथा बचत संकलन लगायतका कार्यका लागि संघ÷संस्थाले उचित कार्ययोजना बनाई कार्यालय संचालन गर्न समेत भनेको छ ।

सहकारी संघ संस्थाहरुले सेवा प्रदान गर्दा संस्थाको एक मात्र काउन्टरबाट झ्याल ढोका खुल्ला राखि सामाजिक दुरी कायम गर्दै स्वास्थ्य सुरक्षका मापदण्ड अपनाएर सेवा दिन भनेको छ ।

मन्त्रालयले आर्थिक संकटको परिस्थिति उत्पन्न हुन नदिन सिमित संख्या वा आलोपालो गरी कर्मचारी परिचालन गर्न सबै संघ र संस्थाहरुलाई सुझाव दिएको छ ।

सूचना तथा सञ्चार माध्यमहरुको उचित प्रयोग गरी आफ्ना सदस्यहरुलाई नियमित रुपमा सम्र्पकमा रही निरन्तर सेवा प्रदान गर्न भनिएको छ । सेवा प्रवाह गर्दा भौतिक दुरी कायम गर्दै एउटा काउन्टरबाट मात्र सेवा दिन भनिएको छ ।

त्यसैगरी सहकारीहरुले उत्पादन गरेका कृषि तथा पशुजन्य उपजहरु खेर जान नदिन स्थानीय प्रहरी प्रशासनसंग समन्वय गरी सुरक्षित रुपले बजारमा बिक्रिवितरण गर्न सकिने जानकारी गराईएको छ ।

कोरोना भाईरस (कोभिड–१९) महामारीको संक्रमण नियन्त्रण गर्न निषेधाज्ञा जारी भएको स्थानमा स्थानीय प्रशासनसंग समन्वय गरेर निश्चित कर्मचारीमार्फत सदस्यलाई अत्यावश्यकीय सेवा दिन भनेको छ ।

संघ र संस्थाका संचालक समिति, लेखा समिति लगायत अन्य समिति तथा उपसमितिहरुको बैठक तथा तालिम, गोष्ठी र सेमिनार जस्ता क्रियाकलापहरु भर्चुअल माध्यमबाट संचालन गर्न अनुरोध गरेको छ ।



Leave a comment