सात दिन भित्र कोपोमिसमा सामेल हुन प्रदेश सरकारको निर्देशन

सात दिन भित्र कोपोमिसमा सामेल हुन प्रदेश सरकारको निर्देशन :: Sahakari Akhabar

इटहरी । प्रदेश १ सहकारी रजिष्ट्रार कार्यालय इटहरीले आफ्नो नियमन क्षेत्रभित्र पर्ने सबै सहकारीलाई सहकारी तथा गरिबी निवारण प्रणाली (कोपोमिस) मा सामेल हुन निर्देशन जारी गरेको छ । रजिष्ट्रार बलराम निरौलाद्वारा ७ गते जारी सूचनामा प्रदेश १ सरकारको नियमन क्षेत्रभित्र पर्ने सहकारी संघ संस्थाहरुलाई कोपोमिसमा सूचना प्रविष्ट गर्न उल्लेख गरेको छ ।

सहकारी विभाग र सेवा प्रदायक संस्थाबीच भएको सम्झौता बमोजिम तथ्यांक प्रविष्ट गर्न प्राविधिक टोली प्रदेश कार्यालय इटहरीमा पुगेका छन् । निरौलाद्वारा जारी सूचनामा ७ दिनभित्र प्रदेश कार्यालयमा सम्पर्क राखी प्राविधिक टोलीसँग सफ्टवेयरमा प्रविष्ट गर्न आवश्यक विवरण के के पेश गर्नुपर्ने हो बुझी टोलीले माग गरेको विवरण पेश गर्न निर्देशन जारी गरिएको हो ।

विभागले चालू आर्थिक वर्षमा प्रदेश १ र बाग्मती प्रदेशका सबै सहकारीको विवरण कोपोमिसमा राख्ने लक्ष्य लिएको छ । आउँदो वर्षभित्र अन्य ५ वटा प्रदेशको पनि तथ्यांक राख्ने योजना छ । कोपोमिस सुरु भएको आधा दशक भन्दा बढी भएपनि कोपोमिसमा सहकारी सामेल हुन सकेका छैनन् । प्रदेश र स्थानीय तहले समेत आफ्ना नियमन क्षेत्रभित्र रहने सहकारीलाई कोपोमिसमा सामेल हुन आह्वान गरेपनि सहकारीले कोपोमिसमा सूचना प्रविष्ट गर्न आनाकानी गरिरहेका छन् ।




Leave a comment