बैंकको विराटनगर शाखाबाट चार सय सहकारीले पाए संरक्षण पूँजी कोषबाट रकम

बैंकको विराटनगर शाखाबाट चार सय सहकारीले पाए संरक्षण पूँजी कोषबाट रकम :: Sahakari Akhabar

चीना थापा, विराटनगर । राष्ट्रिय सहकारी बैंक विराटनगर शाखाबाट चार सय सहकारी संघ संस्थाहरुले संरक्षित पूँजी फिर्ता कोषबाट रकम फिर्ता पाएका छन् । कोषबाट बढी रकम फिर्ता पाउने संस्थाहरुमा तुलसी बहुउद्धेश्यीय  सहकारीले ८७ हजार रुपैया प्राप्त गरेको छ ।

त्यसैगरी स्टर्नस्टार कृषि सहकारीले १ लाख १२ हजार पाएको छ । १ लाख भन्दा बढी पाउने ५ वटा सहकारी रहेका छन् । राष्ट्रसेवकले ८७ हजार पाएको छ भने गोपाल बहुउद्देश्यीयले ५० हजार पाएको छ । ८१ वटा सहकारीले २० हजार भन्दा माथि पाएका छन् ।

त्यसैगरी बचत तर्फ स्टार बहुउद्देश्यीय सहकारीले ५० हजार पाएको छ भने राष्ट्रसेवकले पनि ५० हजार पाएको छ । ५० हजार पाउनेमा वरगाछी बहुउद्देश्यीय, श्रीगणेश बहुउदेश्यीय र नेपा बहुउदेश्यीय रहेका छन् । ५० हजार भन्दा तल ३० हजार भन्दा माथि पाउने सहकारी धेरै छन् । सहकारीमा बैंकमा आवद्ध करिब ४ सय सहकारीले कोषबाट रकम पाएका छन् ।

सहकारी बैंकले सहकारी ऐन २०७४ तथा नियमावली २०७५ को व्यवस्था अनुसार  आर्थिक बर्ष २०७६/७७ को संरक्षित पूँजी फिर्ता कोषबाट सदस्य सहकारीहरुले पाउने रकमको बाँडफाँड गरी ऋणी सहकारी सदस्यलाई ६० प्रतिशत फिर्ता दिईएको सहकारी बैंक विराटनगर शाखाका म्यानेजर प्रभु पोखरेलले जानकारी दिए ।

त्यसैगरी बचत गर्ने सहकारी सदस्यले जम्मा गरेको बचत रकमको आधारमा ४० प्रतिशत रकम फिर्ता पाउने बैंकले जनाएको छ । मोरङमा सहकारी बैंकका तीन वटा शाखा छन् भने प्रदेश एकमा १२ वटा शाखा रहेका छन् । मोरङको विराटनगर, उर्लाबारी र सुन्दरहरैचामा बैंकको शाखा छन् ।

तीनवटै शाखामा गरी ६ सय ६८ वटा सहकारी बैंकमा शेयर सदस्य छन् । जसमा विराटनगर शाखामा ४ सयको हाराहारीमा सहकारी शेयर सदस्य छन् भने उर्लाबारीमा १२३ वटा र सुन्दरहरैचामा १२० वटा रहेका छन् । संरक्षण पूँजी कोषको रकम फिर्ता पाउने व्यवस्था भएपछि बैंकमा शेयर सदस्य बन्ने सहकारीको संख्यामा बृद्धि भएको म्यानेजर पोखरेलले बताए ।

शाखाकाे दुई करोड नाफा

सहकारी बैंक विराटनगर शाखाले दुई करोड नाफा कमाएको छ । बैंकको शाखामा ७५ करोड निक्षेप छ भने ६५ करोड कर्जा लगानी गरेको छ । बैंकले बचतमा ३.५० प्रतिशत व्याज र ऋणमा ६.५० देखि ९.२५ प्रतिशतसम्म मात्र व्याज लिने गरेको जनाए ।

सहकारी स्तर वृद्धिको लागि तालिमहरु सञ्चालन गर्दै आएको उनको भनाई छ । उनका अनुसार सहकारी संस्थागत सुशासन सम्वन्धी केयर ब्रान्डिङ कार्यक्रम पनि बैंकले सञ्चालन गर्दै आएको छ ।




Leave a comment