महिला मिलन साकोसको स्थापना दिवसमा मामाघरलाई सहयोग

महिला मिलन साकोसको स्थापना दिवसमा मामाघरलाई सहयोग :: Sahakari Akhabar

२१ औँ स्थापना दिवस, सहयोग र सम्मान

श्रीराम अर्जुन / हेटौँडा । हेटौँडा उपमहानगर पालिका १३ मा रहेको महिला मिलन बचत तथा ऋण सहकारी संस्थाको स्थापना दिवस सम्मान तथा सहयोग गरी मनाएको छ । संस्था स्थापना भएको २१ औँ स्थापना दिवसमा सडक बालबालिका संरक्षण गर्दै आइरहेको संस्था ‘मामाघर नेपाल’लाई खाद्यान्न खरिदका लागि दश हजार सहयोग गरेको छ । संस्थाका अध्यक्ष विष्णुमाया लामाले मामाघर नेपालका संरक्षक अर्पण पराजुलीलाई रकम हस्तान्तरण गरेकी थिइन् ।

संस्थाले दिवसकै अवसरमा सर्वोत्कृष्ट बचतकर्ता, सफल व्यवसायी, छात्रवृत्ति र संस्थापक अध्यक्षलाई सम्मान गरेको छ । स्थापना दिवसकै अवसरमा संस्थाका संस्थापक अध्यक्ष सुकुमाया थिङलाई सम्मान गरिएको थियो ।

सहकारीले सञ्चालन गरिएको २० समूहका किशोरी समूहलाई ५६ थान सहकारी संस्थाको पोसाक वितरण गरिएको थियो । उच्चशिक्षाका लागि बबिता राई र अजिनामाया दोङलाई जनही पाँच हजार नगद छात्रवृत्ति प्रदान गरिएको छ । कार्यक्रममा संस्थाका व्यवस्थापक फुलमाया मोक्तानले चैत्र मसान्त सम्मको आर्थिक कारोबारको विवरण प्रस्तुत गरेकी थिइन् ।

४ करोड ९२ लाख ९१ हजार ९ सय शेयरपुजीँ रहेको संस्थामा ५ हजार २८ जना शेयर सदस्य रहेका छन् । ५६ करोड ३३ लाख ८० हजार ८८१ कारोबार गरेको संस्थाले ४६ करोड ५८ लाख ६३ हजार ८८२ शेयर सदस्यलाई लगानी गरेको व्यवस्थापक मोक्तानले बताईन् । संस्थामा ३९ करोड १८ लाख ३ हजार ११८ बचत निक्षेप रहेको छ ।

कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी सङ्घकी अध्यक्ष कल्पना श्रेष्ठ, हेटौँडा १२ का वडा अध्यक्ष ललितकुमार घलान, १३ का अध्यक्ष मनोज कुमार वाईबा, संस्थाका निवर्तमान अध्यक्ष लक्ष्मी थिङ, संस्थाका तदर्थ समितिका अध्यक्ष राममाया घिसिङ, लेखा समिति संयोजक शान्तीमाया हिम्डुङ पत्रकार श्रीराम अर्जुन लगायतको अतिथ्यता रहेको थियो ।




Leave a comment