कल्याणकारी साकोसद्धारा सदस्यलाई वित्तिय साक्षरता

कल्याणकारी साकोसद्धारा सदस्यलाई वित्तिय साक्षरता :: Sahakari Akhabar

ललितपुर । कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई वत्तीय साक्षरता तथा सहकारी शिक्षा प्रदान गरेको छ । संस्थाले सदस्यलाई वित्तीय साक्षरता अभियानका रुपमा अगाडि बढाएको हा ।

संस्थाले आफ्ना सदस्यहरुलाई सहकारीका बारेमा आधारभूत ज्ञान दिलाउने उद्देश्यका साथ सदस्य शिक्षा तालिम सञ्चालन गर्दै आएको हो । त्यसैगरी वित्तीय साक्षरता अन्तर्गत सदस्यहरुलाई पारिवारिक बजेट निर्माण, वित्तीय योजना निर्माण, खर्चका प्रकार, बचत गर्न सक्ने ठाउँहरु र भविष्यको लक्ष्य निर्धारण लगायतका विषयमा प्रशिक्षण दिने गरेको संस्थाका व्यवस्थापक कुमार खत्रीले जानकारी दिए ।

वित्तीय साक्षरताले पारिवारिक बजेट बनाएर खर्च गर्न सक्ने कला र सीप दिनुका साथै आर्थिक वृद्धिका लागि योजनावद्ध रुपमा बजेट निर्माण, आम्दानी र खर्चको विश्लेषण गरी आम्दानी वृद्धि तर्फ लाग्न सक्षमता प्रदान गर्ने हुँदा तालिम लाभदायक रहेको उनले बताए । वित्तीय साक्षरताले लक्ष्य निर्धारण गरी सम्पत्तिको मालिक बन्ने ज्ञान दिने हुँदा संस्थाले आफ्ना सबै सदस्यहरुलाई यस प्रकारका तालिम निरन्तर गर्दै जाने उनले बताए ।

संस्थाले ३ महिनाको अवधिमा विभिन्न क्षेत्रमा १० वटा तालिम सञ्चालन गरिसकेको छ । आगामी दिनमा पनि क्षेत्रगत रुपमा सदस्यहरुलाई समेटेर तालिम दिँदै जाने संस्थाले जनाएको छ । संस्थामा १० हजारको शेयर सदस्य आवद्ध रहेका छन् । समुदायमा आधारित र सदस्यकेन्द्रित कारोबार गर्दै आएको संस्थाले आफ्ना सदस्यहरुको आर्थिक, सामाजिक तथा साँस्कृतिक विकासकालागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ ।

संस्थाले सहकारी दिवसको अवसरमा आफ्ना बालसदस्यहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । संस्थाले १ हजार ८ सय विद्यार्थीलाई ४ लाख ५० हजार बराबरको शैक्षिक सामग्री वितरण गरेको हो । विगत १० १२ वर्षदेखि संस्थाले यस्ता गतिविधि गर्दै आएको जनाएको छ ।



Leave a comment