सहकारी बैंकबाट एउटै संस्थाले पायो ४३ लाख संरक्षित पूँजी फिर्ता

सहकारी बैंकबाट एउटै संस्थाले पायो ४३ लाख संरक्षित पूँजी फिर्ता :: Sahakari Akhabar

काठमाडौ । राष्ट्रिय सहकारी बैंकबाट ऋण लिने संघसंस्थाहरुले ६० प्रतिशत भारको आधारमा संरक्षित पूँजी फिर्ता कोषबाट रकम प्राप्त गरेका छन् ।

सहकारी बैंकले सहकारी ऐन २०७४ तथा नियमावली २०७५ को प्रावधान अनुरूप आर्थिक वर्ष २०७६/०७७ को संरक्षित पूँजी फिर्ता कोषबाट सदस्यहरुले पाउने रकमको बाँडफाँड गरी ऋणी सदस्यलाई ६० प्रतिशत भारका आधारमा रकम फिर्ता दिएको हो ।

बैंकले संरक्षित पूँजी फिर्ता कोषबाट प्राप्त हुने रकम सहकारी बैंकमा नियमित कारोबार गर्ने संघ÷संस्थाको खातामा जम्मा गर्ने व्यवस्था मिलाएको प्रमुख कार्यकारी अधिकृत बद्रि गुरागाईले बताए ।

त्यस्तै बचत गर्ने सदस्य संघ/सस्थाले जम्मा गरेको बचत रकमका लागि ४० प्रतिशत भारका आधारमा रकम फिर्ता पाउने छन् । बचत र कर्जा कारोबार गर्ने १२ हजार ४६ सम्पूर्ण संघ/संस्थाहरु आर्थिक वर्ष २०७६/०७७ को संरक्षित पूँजी फिर्ता कोषबाट लाभान्वित भएको बैंकले जनाएको छ ।

बचत र कर्जामा उच्च कारोबार गरी योगदान गरेवापत सबैभन्दा बढी रकम फिर्ता पाउने सदस्यले बचत तर्फ ४३ लाख ४ हजार  सम्म र कर्जा तर्फ १२ लाख १८ हजारसम्म प्राप्त गर्न सफल भएको बैंकले जनाएको छ । ५० हजार भन्दा बढी संरक्षित पूँजी फिर्ता कोष रकम प्राप्त गर्ने सहकारी संघ / संस्थाहरु ५ सय ४९ रहेको बैंकले जनाएको छ ।

बैंकले आफ्ना सदस्य सहकारी संघ/संस्थाहरुलाई आर्थिक वर्ष २०७६/०७७ मा १५ प्रतिशत लाभांश वितरण गरिसकेको सूचना अधिकारी किशोरप्रसाद बिमलीले जानकारी दिए । 



Leave a comment