दाङ । दाङको सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित सहकारी बजार फस्टाउँदै गएको छ । ६ महिनाअघि सञ्चालन भएको बजारले सदस्य तथा सर्वसाधारणको मन जित्दै गएको छ ।
सहकारी बजार प्रमुख माधव खनालले सहकारी बजारमा स्थानीय उत्पादनदेखि अन्तर्राष्ट्रिय उत्पादनसमेत राख्ने गरिएको बताए । तत्कालीन राप्ती र भेरी अञ्चलका विभिन्न जिल्लाका उत्पादनहरू बजारमा राखिएको छ । सल्यान, रोल्पा, जुम्ला, प्युठानका उत्पादन अन्य जिल्लाको तुलनामा बढी आइरहेको छ ।
शेयर सदस्यलाई दैनिक जीवनमा आवश्यक पर्ने हरेक प्रकारका वस्तुहरू उपलब्ध गराउने गरी गत कार्तिकमा सहकारी बजार सञ्चालनमा ल्याइएको हो । बजार प्रमुख खनालले सुरुको समयमा भन्दा पछिल्ला समयमा सहकारी बजारमा सदस्यको आकर्षण बढ्दै गएको बताए ।
सहकारी बजारमा आवश्यक पर्ने दैनिक उपभोग्य सामानहरू, खाद्यान्न, खाना पकाउने ग्यास, चुल्हाका सामानहरू, भाँडाकुँडा, दूध तथा दूधजन्य वस्तुहरू, तरकारी तथा फलफूल, स्थानीय प्रजातिका खाद्यान्न तथा वस्तुहरू सहुलियत दरमा बिक्री गरिएको बजार प्रमुख खनालले बताए ।
सुरुमा सहकारी बजारमा दैनिक ३० देखि ३५ हजार रुपैयाँसम्म कारोबार हुँदै गएकोमा पछिल्ला समयमा दैनिक कारोबार १ लाख रुपैयाँ पुग्न थालेको छ ।
सहकारीले सुरुमा घोराहीको तुलसीपुर चोकमा अवस्थित युनीक मार्केट भाडामा लिएर सहकारी बजार सञ्चालन गरेको थियो । अहिले उक्त जग्गा र भवन आफ्नै नाममा बनाइसकेको बजार प्रमुख खनालले बताए ।
अनलाइन खरिद र होम डेलिभरीको समेत सुविधा प्रदान गरिएको जानकारी गराए । त्यस्तै सदस्यले वार्षिक कारोबार अंकका आधारमा प्रतिफल प्राप्त गर्न सक्छन् । डिजिटल माध्यमबाट बिल भुक्तानीको व्यवस्था गरिएकाले कारोबार पारदर्शी हुने र कारोबारको आधारमा थप प्रतिफल पाइने भएकाले सहकारी बजारप्रति सदस्यको आकर्षण बढ्दै गएको छ ।
संस्थाले सहकारी बजार व्यवस्थापन कार्यविधि २०७७ बनाएको छ । बजार अझै आक्रमक बनाउने संस्थाको योजना छ । संस्थामा हाल ४ सय २७ जना सेयर सदस्य छन् । तर संस्थाले चालू आर्थिक वर्षमा सदस्य बढाउने योजना ल्याएको छ ।
१ हजार भन्दा बढी सदस्य बनाउने र सदस्य र सदस्यका आफन्तमार्फत बजार बिस्तार गर्ने संस्थाको योजना छ । सहकारी बजारमा १० जना कर्मचारीले काम गर्दै आएका छन् । संस्थाको दैनिक कार्य सञ्चालन रामपुरबाट हुँदै आएको छ ।
संस्थाले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशको सहकार्यमा बजार सञ्चालनमा ल्याएको हो । सहकारीको माध्यमबाट कृषकहरूले उत्पादन गरेका वस्तु खरिद गरी बिक्री गर्ने र उपभोक्तालाई सहुलियत दरमा उपलब्ध गराउने उद्देश्यले बजार सञ्चालन गरिएको संस्थाका सचिव हेमराज शर्माले जानकारी दिए ।
दाङ जिल्लामा बसोबास गर्ने व्यक्तिहरू यस संस्थामा आबद्ध भई आफूसँग भएका वस्तुहरू बिक्री गर्न एवं आफूलाई आवश्यक पर्ने वस्तु खरिद गर्न सक्ने सचिव शर्माले बताए ।
संस्थामा आबद्ध सदस्यले आवश्यक पर्ने वस्तु खरिद गर्दा बजार मूल्य भन्दा प्रत्यक्ष छुट प्राप्त गर्न सक्छन् । संस्थाको शेयर सदस्य बन्न प्रवेश शुल्क सय, कार्यक्रम शुल्क २ सय, सदस्य कल्याण कोसबापत २ सय र न्यूनतम १० कित्ता शेयर बापत १ हजार गरी न्यूनतम एक हजार ५ सय रुपैयाँ दिनुपर्ने व्यवस्था गरिएको छ ।
संस्थाका सचिव शर्माले अनलाइन खरिद र होम डेलिभरीको समेत सुविधा प्रदान गरिएको जानकारी गराए । त्यस्तै सदस्यले वार्षिक कारोबार अंकका आधारमा प्रतिफल प्राप्त गर्न सक्छन् । डिजिटल माध्यमबाट बिल भुक्तानीको व्यवस्था गरिएकाले कारोबार पारदर्शी हुने र कारोबारको आधारमा थप प्रतिफल पाइने भएकाले सहकारी बजारप्रति सदस्यको आकर्षण बढ्दै गएको सचिव शर्माले बताए ।
संस्थालाई सबल, सक्षम र सुरक्षित बनाइ सदस्यहरुको समृद्ध जीवन निर्माणमा योगदान पुर्याउन संस्थागत विकासलाई मूल आधार मानी ‘सदस्यहरूको आर्थिक, सामाजिक र सांस्कृतिक विकास, सर्वोत्तमको निकास’ भन्ने साझा धारणाका साथ सदस्यको आवश्यकता पूर्ति गर्न क्रियाशील रहेको बताइएको छ ।
संस्थाका अध्यक्ष ध्रुवराज पौडेलले १ करोड ५० लाख लागतमा सहकारी बजार स्थापना गरिएको बताए । पूर्वाधार निर्माणमा १ करोड लागेको र त्यसको आधा प्रदेश सहकारी मन्त्रालयबाट अनुदान प्राप्त भएको उनले बताए ।
Leave a comment