काठमाडौँ । नेचुरल बचत तथा ऋण सहकारी संस्थाले ६४ औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सदस्यहरूका लागि ३ वटा नयाँ सुविधा थप गरेको छ । ६४औँ राष्ट्रिय सहकारी दिवसको ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ नारा कार्यान्वयन गर्न नयाँ प्रविधि सुरु गरिएको संस्थाका कार्यकारी प्रमुख विकल्प पाठकले जानकारी दिए ।
संस्थाले ई–टेलर, ई–पेमेन्ट र फोन–पे सञ्चालनमा ल्याएको छ । सदस्यहरूले संस्थाको मुख्य कार्यालयसहित सबै सेवा केन्द्रबाट उक्त सुविधा लिन सकिने पाठकले बताए । सदस्यहरूले नेचुरल मोबाइल एपको प्रयोग गरी उक्त सुविधाहरू लिन सक्नेछन् ।
‘ई–टेलर बैङ्किङ सेवा लिनका लागि संस्थाको क्यास काउन्टर मा राखिएको क्युआर कोड स्क्यान गरी रकम झिक्नका लागि अनुरोध गर्न सकिन्छ,’ पाठकले भने ‘सदस्यले गरेको अनुरोधका आधारमा चेक बिना नै रकम उपलब्ध गराइन्छ र सदस्यले माग गरेको रकम प्राप्त गर्न सक्छन्।’ यो सुविधा लिन संस्थाको कार्यालयमा नै जानुपर्ने हुन्छ ।
त्यसै गरी संस्थाले ई–पेमेन्ट सुविधा पनि सुरु गरेको छ । सदस्यले ई–पेमेन्ट सेवाका लागि सुरुमा एउटा फारम भरेर पिन कोड लिनुपर्छ । पिन कोड प्राप्त भएपछि कोड प्रयोग गरेर घरमै बसेर रकम ट्रान्सफर गर्न सकिन्छ । पिन कोडकै आधारमा सदस्यले भुक्तानी दिन चाहेको व्यक्ति संस्थाको काउन्टर मा गई रकम भुक्तानी लिन समेत सक्छन् ।
त्यसै गरी फोन–पे सुविधामार्फत सदस्यहरूले कुनै पनि बैङ्क तथा वित्तीय संस्थामा भएको पैसा नेचुरल सहकारीमार्फत झिक्न सक्नेछन् । यो सुविधा गैर सदस्यहरूलाई पनि उपलब्ध गराएको संस्थाले जनाएको छ । यो सुविधा निःशुल्क उपलब्ध गराएको छ ।
‘सदस्यको कुनै बैङ्क खातामा पैसा छ भने उसले फोन–पे मार्फत स्क्यान गरेर नेचुरलको काउन्टर बाटै पैसा झिक्न सक्छ । बैङ्कको शाखा खोज्दै हिँड्नु पर्दैन,’ उनले भने,‘उक्त एपको प्रयोग गरी सहज रूपमा रकम निकाल्न सकिन्छ।’ संस्थाले ई–सेवा र फोन–पेसँग सम्झौता गरेर ती सेवा सञ्चालनमा ल्याएको हो । संस्थाले ती सुविधाहरूको प्रयोगको विषयमा आफ्ना बजार प्रतिनिधिहरूमार्फत सिकाउँदै आएको छ ।
संस्थाले छुट्टै आइटी पार्ट नै खडा गरेको छ । संस्थामा ५० भन्दा बढी बजार प्रतिनिधि कार्यरत छन् । उनीहरूमार्फत सम्पूर्ण सदस्यहरूलाई मोबाइल एप डाउनलोड गरी चेक लेस र क्यास लेस पेमेन्ट बारेमा सिकाउँदै आएको उनले जानकारी दिए । संस्थाले नयाँ प्रविधिलाई आत्मसात गर्दै अगाडि बढेको जनाएको छ । कोभिड १९ पछि त नयाँ नयाँ प्रविधिको प्रयोगले झनै तीब्रता पाएको उनको भनाइ छ ।
प्रतिस्पर्धी बजारमा प्रविधिलाई नअपनाई संस्था दीर्घकालीन रूपमा सञ्चालन गर्न नसकिने र अबको एक दुई वर्षपछि सबै कारोबार क्युआर कोडमय हुने हुँदा संस्थाले पनि अहिलेदेखि नै त्यस्ता प्रवििधलाई भित्राई अगाडि बढेको उनले बताए ।
Leave a comment