काठमाडौँ । गुडविल बचत तथा ऋण सहकारी संस्था कुमारी पाटीका अध्यक्ष नभेटिएपछि उजुरी दिने पीडित निक्षेपकर्ता हरुको सख्या बढ्न थालेका छन् । आफ्नो निक्षेप फिर्ताका लागि पीडितहरूले प्रहरीमा निवेदन दिएका हुन् ।
अध्यक्ष दिवाकर श्रेष्ठ नभेटिएपछि २० जना निक्षेपकर्ताले प्रहरीमा उजुरी दिएका छन् । उनीहरूले जिल्ला प्रशासन कार्यालय महानगरीय प्रहरी परिसर जावलाखेल सहित ललितपुर महानगरको छाबहालस्थित सहकारी शाखा, ललितपुर बचत तथा ऋण सहकारी सङ्घमा उजुरी दिएका छन् ।
२ सय जना पीडित सङ्गठित भएर हिसाबकिताब माग गरिरहेका छन् । अध्यक्ष श्रेष्ठलाई खोजी गरी पाउ भन्दै उजुरी दिएको बताइएको छ । कर्मचारीले अध्यक्ष श्रेष्ठले पैसा लगेर भागेको बताएका छन् । उनी नआई पैसा फिर्ता दिन नसक्ने जवाफ पीडितले पाइरहेका छन् ।
केही दिनयतादेखि कार्यालय आंशिक खुला भएको छ । तर सञ्चालक समिति नै सम्पर्क विहीन भएपछि पीडित अलपत्र परेका छन् । सहकारी सिस्टममा नचलेको कारण समस्या आएको बताइएको छ । ऋण कहाँ कति लगानी भएको छ भन्ने कुनै रेकर्ड छैन ।
पीडितले कार्यदल बनाएर समस्या समाधान गर्न पहल थालेका छन् । जिल्ला बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष रामहरि बजगाईँले कोषाध्यक्ष दीपक घिमिरेको नेतृत्वमा समस्या समाधान गर्न पहल थालिएको बताए ।
Leave a comment