ललितपुर । राष्ट्रिय सहकारी बैङ्कले केन्द्रीय कार्यालय भवन निर्माण प्रक्रिया अगाडि बढाएको छ । बैङ्कको १७ औँ वार्षिक साधारण सभाले जग्गा खरिद गरी भवन निर्माण प्रक्रिया अगाडि बढाउने निर्णय गरे लगत्तै जग्गा खरिद गरेको बैङ्कले केन्द्रीय कार्यालय भवन निर्माणका लागि कार्यदल गठन गरेको हो ।
बैङ्कका सञ्चालक रामहरि बजगाईँको संयोजकत्वमा गठित भवन निर्माण कार्यदलमा सञ्चालकहरू ज्ञान बहादुर तामाङ, पार्वती थापा र केदार मानन्धर सदस्य रहेका छन् । सञ्चालक समितिको बैठकले गठन गरेको कार्यदलको सदस्य सचिवमा बैङ्कका प्रबन्धक मोहन बहादुर कार्की रहेका छन् ।
बैङ्कले काठमाडौँको टेकुमा २ रोपनी १ आना २ पैसा क्षेत्रफलको जग्गा २० करोड ६० लाख २५ हजार रुपैयाँमा खरिद गरेको थियो । बैङ्कको केन्द्रीय कार्यालयको भवन निर्माण गरेर बैङ्कका सेवालाई थप प्रभावकारी बनाउने बैङ्कका अध्यक्ष केबी उप्रेतीले बताए ।
उनले भने ‘अब छिटै बैङ्कको आफ्नै केन्द्रीय कार्यालयको भवन निर्माण गरेर त्यैबाट सेवा सञ्चालन गर्नेछौ ।’ बैङ्कका ६८ शाखा १३ हजार सदस्य रहेका छन् । बैंकमा २ अर्ब ८५ करोड शेयर पुँजी, ६० अर्ब निक्षेप र ३३ अर्ब कर्जा लगानी रहेको बैङ्कका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईँले जानकारी दिए ।
बैङ्कले वित्तीय सेवासङै सहकारी सङ्घ संस्थाहरूको संस्थागत विकास, सहकारी शिक्षा सहकारीकर्मी हरुको क्षमता विकास, नेतृत्व विकास लगायत सहकारीको सुशासनलाई व्यवस्थित गराउने उद्देश्य सहित तालिम तथा स्तरीकरण कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ ।
Leave a comment